२०८१ बैशाख २५ , मंगलबार

प्रतिनिधिसभा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गर्नुभयो ।

सांसद भट्टराईले पोखरामा चार सयको सङ्ख्यामा रहेका होटलहरुको इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँ खण्ड लामो समयदेखि विचाराधीन रहनुले असुविधा भएको गुनासो गर्नुभयो ।ठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद सुशीला सिर्पाली ठकुरीले जलवायु परिवर्तनसँगै आगलागीलगायत प्राकृतिक विपदका कारण किसानका बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति र राहत दिन माग गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले कारागारहरुमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले मन्त्रीहरुसमेत जोडिएका सहकारीको रकम ठगीका घटनामा संसदीय छानबिन समिति गठन नगरिएको र कृषि क्षेत्रमा लगानी नबढाइएकामा चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विना जैसवाल वीरगञ्जको सिर्सिया खोलामा विभिन्न उद्योग र होटेलबाट वातावरण प्रदूषण गरेकाले वातावरण संरक्षण गर्न माग गर्नुभयो ।एमालेका सांसद रेखा यादवले दलित बालिबालिकालाई आवासीय विद्यालय सञ्चालन गर्न माग गर्नुभयो ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सांसद राजेन्द्रप्रसाद पाण्डेले निजामती कर्मचारीलाई निरुत्साहित हुने गरी प्रशिक्षार्थी (उत्प्रेरक) का रुपमा परिचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएको विषयमा प्रश्न गर्नुभयो ।

जनमत पार्टीका सांसद अब्दुल खाँनले इद उल फित्रका दिन त्रिभुवन विश्वविद्यालयले परीक्षा राखेकामा असन्तुष्टि व्यक्त गर्नुभयो । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद रामप्रकाश चौधरीले राजनीतिप्रति वितृष्णा फैलिएकाले जनतामा आशा जगाउने काम हुनुपर्ने माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले छिमेकी मुलुकसँगकोसीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहटको मौलापुरमा बाढीले भत्किएका बाँधहरु पुनः निर्माण हुनुपर्ने माग गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले भ्रष्टाचारका मुद्धामा ठूला नेतालाई बचाउने प्रवृत्तिले कर्मचारीहरुले काम वा निर्णय गर्ने क्षमता कमजोर भएको बताउनुभयो । नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारी धादिङको रुवी भ्यालीको सडक ३० वर्षदेखि बन्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।एमालेका सांसद अमृतादेवी अग्रहरिले मुलुकबाट युवा श्रम शक्ति र प्रतिभा पलायन भइरहेको अवस्था यसलाई रोक्न ठोस पहल गर्न आग्रह गर्नुभयो । कांग्रेसका सांसद लीलादेवी बोखिम लिम्बुले ताप्लेजुङको महानन्दे दोभान सडक कालोपत्र हुन बजेट अभाव भएकामा ध्यानाकर्षण गराउनुभयो ।

एमालेका सांसद शान्ति श्रेष्ठले सीमान्तकृत, संरक्षणबिहीन र यौनिक अल्सङ्ख्यक बालबालिकाको शिक्षा र अधिकारको पहँुचवृद्धिका लागि लगानी गर्न आग्रह गर्नुभयो ।एमालेका सांसद किरणकुमार साहले गत आठ महिनामा चार लाख युवा पलायन भएको तथ्याङ्क बाहिरिएकाले माटो सुहाउँदो शिक्षाको व्यवस्था गरी युवालाई स्वदेशमै रोजगारी दिन माग गर्नुभयो ।   रासस