२०८१ बैशाख २० , बिहिवार

मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारी स्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको जनाए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माणको अनुगमन गरी वर्षायामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन महत्वपूर्ण रहेकाले निर्माणलाई तिब्रता दिन आग्रह गर्यो ।टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्नहुन समय तालिका लगायतका विषयमा जानकारी लिएको थियो ।

आयोजनाका तर्फबाट वन क्षेत्रको जग्गाप्रयोग र रुख कटान स्वीकृतिका रहेको कानूनी लामो प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्य सम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो ।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोक–नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्नगर्न नसकिएमा २/३ सय मेगावाटविद्युत् प्रवाहगर्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन सक्ने बताए ।

‘अहिले चालू रहेको मस्र्याङ्दी भरतपुर र दमौली–भरतपुर १३२ केभी प्रसारणलाइन सिङ्गल सर्किट मात्रछन्, जसबाट करिब ८०/८० मेगावाट मात्र विद्युत् प्रवाहगर्न सकिन्छ, मार्कीचोकबाट विद्युत् काठमाडौं ल्याउन त सकिन्छ तर प्रसारण लाइनको क्षमताले नथान्ने हुँदा काठमाडौंबाट हेटौंडातर्फ थपविद्युत् पठाउन पनि सकिंदैन, यसबाट भारत र्फको विद्युत् निर्यात पनि प्रभावित हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने  ।

‘त्रिशूली करिडोरबाट माथिल्लो त्रिशूली ३ ए, रसुवागढी, साञ्जेन लगायतका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं आउँछ, मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौंडातर्फ र बुटवलतर्फ प्रवाह गर्न सकिन्छ, नत्रविद्युत्कतै प्रवाहगर्न नसकी ह्यागिङ हुने अवस्था आउने देखिएको छ ।’घिसिङले चितवनका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयका प्रमुखलाई फोन गरीवन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्वपूर्ण प्रसारण लाइनको निर्माण जति सक्दो छिट्टो सम्पन्नगर्न आवश्यक सहयोग गरिदिन आग्रह गरे ।

आयोजना अन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटानगर्नु पर्नेछ । मन्त्रि परिषद्को गत २५ माघको बैठकले वनक्षेत्रको जग्गाप्रयोग र रुख कटानकालागि स्वीकृति दिएको थियो ।वनक्षेत्रको जग्गा प्रयोग गरेबापत सोही बराबरको जग्गा उपलब्ध गराउनु पर्ने वन नियमावली, २०७९ मा भएको व्यवस्था बमोजिम आयोजनाले गत १३ फागुनमा निजी जग्गा खरिदका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

नियमावलीमा भएको व्यवस्था बमोजिम सम्बन्धित जिल्लाभित्र सम्भव भएसम्म आयोजना स्थल नजिक पर्ने राष्ट्रियवन क्षेत्रसँग जोडिएको र समान भौगोलिक परिस्थितिकीय क्षेत्रमा पर्ने तथा वन विकास गर्न सकिने भू–बनोट भएको निजी जग्गा बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको थियो । तर, जग्गा बिक्रीका लागि प्रस्ताव नै नपरेको आयोजना प्रमुख नारायण रेग्मीले बताए  ।अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जग्गा प्राप्ति सहजीकरण समितिले जग्गा प्राप्त नभएको सिफारिस वन तथा भू–संरक्षण विभागमा गरिदिनु पर्नेछ । त्यसपछि आयोजनने वन क्षेत्रको जग्गा प्रयोग गरेबापत तोकिएको रकम वन विकास कोषमा जम्मा गरेपछि मात्र विभागसँग सम्झौता हुने छ । त्यसपछि मात्र वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको प्रक्रिया अगाडि बढ्ने छ । प्राधिकरणको टोलीले जग्गा प्राप्ति सहजीकरणको बैठक तत्काल राखी विभागमा सिफारिस गरिदिन आग्रह गरेको हो ।

मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । ५ वटाटावर खडा गरिएको छ ।मस्र्याङदी करिडोर प्रसारणलाइन आयोजना अन्तर्गत २२० केभी क्षमताका चारवटा सबस्टेसनहरुको निर्माण हुँदैछन् । चितवनमा नयाँ भरतपुर सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ । लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छन् ।मस्र्याङ्दी र त्यसका सहायक नदीहरुबा टउत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत्प्रवाह गर्न सकिने छ । आयोजना अन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारा पानी सम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेज अन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसन सम्मको करिब ६७किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।दोस्रो प्याकेज अन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण गरिएको छ । तेस्रो प्याकेज अन्तर्गत खुदीबाट धारापानी सम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेका छन् ।
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।