२०८१ जेठ ४ , शुक्रवार

प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज खोप अभाव

khop 3

सुनाखरी न्युज/ काठमाडौं ।

सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेविज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ । महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका हुन् ।

मागअनुसार खोप नआएका कारण सधैँ अभाव हुने गरेको लालबन्दीस्थित नगर अस्पतालका डा राम विश्वास रायले जानकारी दिनुभयो । कुकुरले टोक्दा लगाउने एन्टिरेविज विरुद्धको खोप प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र मधेस प्रदेश जनकपुरले वितरण गर्ने गरेको छ ।जिल्लामा साविक पाँच वटा प्राथमिक स्वाथ्य केन्द्रमध्ये चार वटा बलरा, लालबन्दी, बरहथवा र हरिपुरबाट सेवा प्रवाह हुँदै आएको छ । यसमा थप सासापुर स्वास्थ्य चौकी हरिवन र प्रादेशिक अस्पताल मलङ्गवाबाट पनि सेवा प्रदान हुने गरेको अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

सेवा सञ्चालन भइरहेका जिल्लाका उत्तरी क्षेत्रका लालबन्दी, हरिपुर प्राथमिक स्वास्थ्य केन्द्र र सासापुर स्वास्थ्य चौकीमा हरेक महिना औषधि अभाव हुने गरेको छ । सासापुर स्वास्थ्य चौकी हरिवनमा मासिक २५ देखि ४० भाइल मात्र खोप आउने गरेको छ । तर, माग सय भाइल रहेको स्वास्थ्य संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।‘‘यहाँ माग सय भाइलसम्म हुने गरेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेका बिरामी धेरै आउँछन् । तर, औषधि मुस्किलले हप्तादेखि दुई हप्तालाई मात्र पुग्छ ।’’ आफूहरुले प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रमा माग पत्र बुझाएको उहाँले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र हरिपुरमा पनि खोप सकिएको चिकित्सकहरुले बताएका छन् । यस महिनाको लागि आएको ४० भाइल खोप गत १५ गतेअघि नै सकिएको लालबन्दी नगर अस्पताका डा रायले जानकारी दिनुभयो । रेविज विरुद्धको खोप लगाउन आउनेलाई अन्यत्र पठाउने गरीएको उहाँको भनाइ थियो ।खोपका लागि मासिक सय जना बिरामी आउने गरेको र औषधिको कोटा थोरै हुँदा समस्या भएको हरिपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक अनिलकुमार चौधरीले जानकारी दिनुभयो । ‘‘अहिले हामीसँग खोप छैन ।’’ उहाँले भन्नुभयो, ‘‘सधँै यस्तो त हुन्न तर, पनि औषधि पर्याप्त छैन । सधैँ नपुग नै हुन्छ ।’’

रेविजविरूद्धको खोप सरकारले निःशुल्क रूपमा प्रदान गर्ने गर्दछ । तर, पनि स्थानीय स्वास्थ्य संस्थाले व्यवस्थापन खर्चका लागि भनेर एक मात्राको सय रुपैयाँसम्म लिने गरेका छन् । त्यो पनि नपाउँदा स्थानीय चर्को मूल्यमा निजी क्लीनिकबाट किनेर प्रयोग गर्न बाध्य छन् ।
रेविज विरुद्धको खोप बजारमा प्रति भाइल रु दुई हजार पाँचदेखि तीन हजारसम्म पर्ने गरेको छ । यसरी सरकारले अनुदानमा निःशुल्क दिने भनेको रेविज विरुद्धको खोपसमेत अभावमा बजारमा गएर किनेर लगाउनुपर्दा विपन्न नागरिकलाई मर्का परेको हरिवन नगरपालिकाकी रीता सापकोटाले बताउनुभयो ।

यता प्रादेशिक अस्पताल मलङ्गवामा प्रत्येक महिना तीन सय भाइल हाराहारीमा खोप आउने गरेको छ । अस्पतालका मेसु डा नवलकिसोर झाले औषधि पर्याप्त रहेको बताउनुभयो । प्रदेशबाट कुनै रोकतोक विना खोप दिने गरेको उहाँको भनाइ छ । प्रयोग विवरण स्पष्ट बुझाउनुपर्ने उहाँको दाबी छ ।कुकरले टोके एक व्यक्तिले यो खोप २८ दिनभित्रमा तीनदेखि पाँच पटकसम्म लगाउनुपर्छ ।  रासस