२०८१ जेठ ७ , सोमवार

एमाले लमजुङको अध्यक्षमा विष्ट निर्वाचित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित हुनुभएको छ । कमिटिको नवाँैं जिल्ला अधिवेशनको आज सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गर्नुभएको थियो । बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष हुनुहुन्थ्यो । यसअघिका जिल्ला अध्यक्षसमेत रहनुभएका अधिकारीले एक सय ९९ मत प्राप्त गर्नुभयो । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको थियो ।

उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन् । यस कमिटिको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित हुनुभयो । गुरुङले दुई सय ४२ मत प्राप्त गर्नुभयो भने पौडेलले दुई सय ३७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी हुनु भएको छ । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गर्नुभयो भने मिश्रले एक सय १९ मत प्राप्त गर्नुभएको थियो । उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गर्नुभयो भने अधिकारले एक सय २९ मत प्राप्त गर्नुभयो ।

सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित हुनुभएको थियो । आइतबार भएको मतदानमा पाँच सय ३२ जना सहभागी हुनुपर्नेमा पाँच सय छ जनाले गर्नुभएको थियो । निर्वाचित कमिटिको कार्यकाल तीन वर्षे रहने छ ।  रासस