२०८१ जेठ ४ , शुक्रवार

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाउनुभएको हो । उहाँले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसक्नुभएको छ । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लाग्नुभएको छ ।

भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा सहभागी हुनुभएको छ । विसं २०४६ मा उहाँको विवाह भयो । कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो । त्यही बेला उहाँ सुन्त्केरी भएर छोरा जन्माउनुभयो । सुत्केरी भएपछि परीक्षा दिन त पाउनुभएन नै भुसालको त्यसपछिको पढाइसमेत रोकियो । पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उहाँ गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना हुनुभयो । कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी हुनुभएको हो ।

पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुनः विद्यालय पढ्न थालेको परीक्षार्थी भुसालले बताउनुभयो । उहाँले कक्षा ८ सम्म बिहादी गाउँपालिका–५ उरामको चन्द्र माविमा अध्ययन गर्नुभएको थियो । पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उहाँको भनाइ छ ।

भुसालका छोरा र छोरीबाट तीन नातीनातीनासमेत छन् । “छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो, तर सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु”, उहाँले भन्नुभयो, “एसइईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने योजना छ ।”भुसाल बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि हुनुहुन्छ । उहाँ पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बन्नुभएको थियो । भुसालले अहिले सक्रिय राजनीति गर्दै आउनुभएको छ । उहाँ नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला सङ्घ बिहादीको कोषाध्यक्षसमेत रहनुभएको छ ।

भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा पनि काम गरिसक्नुभएको छ । कार्यपालिका सदस्यमा विजयी भएपछि उहाँले स्वयंसेविका छाड्नुभएको हो । उहाँले २०४८ सालबाटै नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भएर राजनीति गर्दै आउनुभएको हो ।
“राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो”, उहाँले भन्नुभयो । घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उहाँले बताउनुभयो । भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेका नेता हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख रहनुभएको छ ।

“सानै उमेरमा विवाह भएपछि पढाइ रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकी छिन”,/ श्रीमान् तिलकले भन्नुभयो, “उनको इच्छाअनुसार जहिलेसम्म पढ्छिन, त्यति बेलासम्म पढ्ने वातावरण मिलाउँछु ।” श्रीमतीको पठनपाठन प्रभावित नहोस् भनेर आफूले घरायसी काममा सहजीकरण गरिदिने गरेको तिलकले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले पर्वतमा एसइई दिने दुई हजार २८ विद्यार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ । कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसाल ५० वर्ष नाघेको विद्यार्थी रहेको भन्दै उहाँ जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थी भएको बताउनुभयो । पर्वतकै पैंयु गाउँपालिकास्थित जनसेवा संस्कृत माविबाट १२ वर्षका शक्ति अधिकारीले पनि एसइई परीक्षा दिनुभएको छ । अधिकारी जिल्लाकै सबैभन्दा कान्छो उमेरका विद्यार्थी हुनुहुन्छ । लक्ष्मीप्रसाद सापकोटा/रासस