२०८१ जेठ ४ , शुक्रवार

असार १५ गतेभित्र कमला पुल सम्पन्न गर्न निर्देशन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।

आज बिहान मन्त्री महासेठले पुलको निरीक्षण गर्नुभएको थियो । उहाँले असार १५ गतेभित्र निर्माण सम्पन्न नभए सरकारले विकल्प खोज्ने चेतावनी दिनुभयो । “धनुषा र सिरहाका जनताले यतिका दिन दुःख भोग्यो अब भोग्न दिन्न”, उहाँले भन्नुभयो, “करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्नुप¥यो ।” नेपाल सरकारले पनि निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्ने नीति लिएको उहाँले बताउनुभयो ।

मन्त्री महासेठ आज जनकपुरधाम आएलगत्तै कमला पुलसँगै हुलाकी सडकको निरीक्षण गर्नुभयो । उहाँले मधेसको लाइफलाइन मानिने हुलाकी सडकको निर्माण यथाशीघ्र सम्पन्न गराएर जनतालाई सास्ती भोग्नबाट मुक्त गराउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले धनुषाको औरहीलगायतका ठाउँमा निर्माण हुन बाँकी सडकको निरीक्षण गर्नुभएको छ । बन्न बाँकी सडक र पुल समयमै निर्माण सम्पन्न गर्न उहाँले ठेकेदारलाई निर्देशन दिनुभयो । ठाउँठाउँमा सडक र पुल निर्माणको काम सम्पन्न नभएर हुलाकी सडक सञ्चालनमा आउन सकेको छैन ।

कमला पुल निर्माणको ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न भए पनि उद्घाटनको एक महिना अगाडि गत असार १८ गतेको बाढीले भासिएको थियो ।  रासस