२०८१ बैशाख ३१ , सोमवार

आकस्मिक समयः सडक दुर्घटना न्यूनीकरण र किसानका समस्याबारे ध्यानाकर्षण

accident i

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सांसदहरुले सडक दुर्घटना बढिरहेको र किसान विभिन्न समस्यामा परेकालगायत समसामयिक विषय उठाउनुभएको छ ।

आकस्मिक समयमा सांसद हितराज पाण्डेले शनिबार बिहान पृथ्वी राजमार्गको मुग्लिन नजिकै भएको सवारीसाधन दुर्घटनाको विषय उठाउँदै उक्त दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य तीव्र पार्न सरकारसँग माग गर्नुभयो । पछिल्लो समय सडक दुर्घटना बढिरहेकाबारे पनि संसद्मार्फत् उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद एकनाथ ढकालले सडक दुर्घटना बढेको विषयमा संसद्मार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद ध्रुवबहादुर प्रधानले नागरिकलाई सेवा प्रवाहमा भएको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । हिउँदेबाली भित्र्याउने बेलामा हावाहुरी र असिना पानीले बालीनालीमा पुगेको क्षति विश्लेषण गरी किसानलाई राहत उपलब्ध गराउन उहाँले माग गर्नुभयो ।

सांसद अशोककुमार चौधरीले तराईका जिल्लामा वर्णशङ्कर जातको बीउका कारण मकैमा दाना नलागेको विषय उठाउनुभयो । त्यस्तो बीउ बेच्ने डिलरलाई कारबाही गर्न र कृषकलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न उहाँले माग गर्नुभयो । जलवायु परिवर्तनको असरले कृषिबालीमा पारेको असर र वन्यजन्तु आक्रमण न्यूनीककरणका लागि आवश्यक कदम चाल्नुपर्नेमा सांसद चौधरीले जोड दिनुभयो ।

सांसद डा अमरेशकुमार सिंहले न्यायपालिकाको न्यायसम्पादनमा प्रश्न उठेको बताउनुभयो । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको र न्यायाधीशले न्यायसम्पादन गर्दा विभेदपूर्ण तरिकाले निर्णय गर्ने गरेको उहाँले आरोप लगाउनुभयो ।

न्यायपालिकाबाट भइरहेका निर्णयको छानबिन गर्न र न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग सांसद डा सिंहले गर्नुभयो । उहाँले न्यायप्रणाली दूषित बन्दै गएकाबारे संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । न्यायपरिषद्मा परेका उजुरीको छानबिन निकै कम हुने गरेको पनि उहाँले बताउनुभयो ।  रासस