२०८१ बैशाख १५ , शनिवार

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा बढी नाइजेरियाली स्कुले बालबालिकाका अभिभावकहरूले बुधबार पुनर्मिलनको समयमा खुसीका आँशु रोक्न नसकेको बताएका छन् ।

बच्चाहरू मुक्त भएको तीन दिनपछि कडुना शहरमा सरकारले व्यवस्था गरेको कार्यक्रममा अभिभावकसँग पुनर्मिलन गराइएको थियो । उक्त स्थानमा बच्चाहरूलाई चिकित्सा सहायता सहित राखिएको थियो ।गत मार्च ७ यता पहिलो पटक भेट हुँदा अभिभावकहरुले आफ्ना बच्चाहरुलाई अश्रुपुरित अङ्कमाल गरेका थिए । कडुनाको उत्तरपश्चिमी दुर्गम शहर कुरिगामाबाट मोटरसाइकलमा आएका बन्दुकधारीले ती बालबालिकालाई बन्दुकको नालको त्रासमा विद्यालयबाट अपहरण गरेका थिए ।

“म आज निकै हर्षित र खुसी भएकी छु,” अपहरणमा परेकी आफ्नी १४ वर्षीया छोरीलाई भेटेपछि शिटु अब्दुल्लाहीले निकै उत्साही हुँदै भन्नुभयो ।दश देखि १५ वर्षसम्मका ती बालबालिकालाई कहिले घर जान अनुमति दिइने हो भन्ने अझै स्पष्ट भइसकेको छैन । अभिभावकहरूले भने सरकारले यो हप्ताभित्रै घर पठाउने आश्वासन दिएको बताएका छन् ।

अपहरणकारीले विद्यार्थीसँगै लगिएका एकजना कर्मचारीको बन्दी अवस्थामै मृत्यु भएको सैन्य अधिकारीहरूले बताएका छन् ।एक अभिभावक इब्राहिम मिकालुले आफ्नी १३ वर्षीया छोरीलाई भेटेपछि आफू भावुक भएको र परिवारका बाँकी सदस्य उनलाई घरमै हेर्न उत्सुक रहेको बताउनु भयो ।

छिमेकी जाम्फरा राज्यको उत्तरमा करिब दुई सय किलोमिटर टाढाको जङ्गलबाट आइतबार नाइजेरियाली सेनाले ती स्कुले बालबालिकालाई मुक्त गरेको थियो । उनीहरुले अहिले सेना र सरकारले व्यवस्था गरेको औषधि उपचार प्राप्त गरिरहेका छन् ।अधिकारीहरूले कुरिगाका बच्चाहरूको मुक्तिका लागि कुनै फिरौती नदिएको बताएका छन् ।लसम्म कुनै पनि समूहले उनीहरूको अपहरणको जिम्मेवारी लिएको छैन । स्थानीय अधिकारीहरूले द्वन्द्वग्रस्त उत्तरमा सामूहिक हत्या र फिरौतीका लागि डाकु समूहहरूले घटना घटाएको आङ्कलन गरेका छन् ।

सन् २०१४ मा नाइजेरियाको बोर्नो राज्यको चिबोक गाउँमा बोको हराम समूहका लडाकुले दुई सय ६७ जना स्कुले छात्रा अपहरण गरेयता नाइजेरियाका विद्यालयहरुबाट कम्तीमा १४ सय विद्यार्थी अपहरण भइसकेका छन् । पछिल्लो समयमा अपहरणका घटनाहरु द्वन्द्वग्रस्त उत्तर–पश्चिम र मध्य क्षेत्रहरूमा केन्द्रित छन्, जहाँ दर्जनौँ सशस्त्र समूहहरूले गाउँले र अन्य यात्रुहरूलाई फिरौतीका लागि अपहरण गर्ने गर्छन् ।  रासस/ एपी