२०८१ बैशाख १५ , शनिवार

एसईई आजदेखि, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने

SEE-Students-Dang-Photo-RSS-1024×768

सुनाखरी न्युज/ काठमाडौं ।

आजदेखि  माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदै छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

 

एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एकरएक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन् ।

 

 

 

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले एक सय पूर्णाङ्कको परीक्षामा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनुपर्ने जानकारी दिए । उनका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।

 

जापानबाट २३ विद्यार्थीले एसईई दिंदै

यस वर्षको एसईई परीक्षामा जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्र गरी जम्मा २३ जना परीक्षार्थीहरु सहभागी हुँदैछन् । एभरेष्ट इन्टरनेसनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो । यहाँ जापानमा बसोबास गर्ने नेपालीहरुका छोराछोरीले अध्ययन गर्छन् ।

जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने छ । जापानमा केन्द्र रहेको स्कुलको प्रिन्सिपललाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । उत्तर पुस्तिका हुलाकमार्फत पठाइएको थियो भने प्रश्नपत्र इमेलमार्फत पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।