२०८१ बैशाख २५ , मंगलबार

मस्कोको कन्सर्ट हल आक्रमण : चार आरोपितमाथि आतङ्कवादको अभियोग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न भएको आरोपमा चारै जना संदिग्धलाई आतङ्कवादको अभियोग लगाइएको छ र दोषी ठहर भएमा उनीहरूलाई आजीवन कारावासको सजाय हुनसक्छ ।अहिले उनीहरूलाई मे २२ सम्मका लागि थुनामा राखिएको छ तर मुद्दाको सुनुवाइको मितिका आधारमा म्याद थप गर्न सकिने अदालतले जनाएको छ ।

उनीहरूलाई आइतबार हिरासतमा लिइएको थियो । अदालतले दुई जना प्रतिवादीले आफ्नो अपराध स्वीकारेको र तीमध्ये एक जना ताजिकिस्तानका नागरिक रहेको र उनले आफ्नो अपराध पूर्णरुपमा स्वीकारेको जनाएको छ ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘बर्बर आतङ्कवादी हमला’मा संलग्नलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिबार युक्रेनतर्फ भाग्ने क्रममा चारै जना बन्दुकधारीलाई पक्राउ गरिएको रूसी अधिकारीले बताएका थिए ।किएभले उक्त आक्रमणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

पुटिनले इस्लामिक स्टेट (आइएस) समूहको जिम्मेवारीबारे सार्वजनिक रूपमा कुनै भनाई राख्नुभएको छैन ।मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा शुक्रबार साँझ बन्दुकधारीले आक्रमण गरी भवनमा आगजनी गर्दा तीन बालबालिकासहित कम्तीमा १३७ जनाको मृत्यु भएको थियो ।आइएसले युरोपमा गरेको यो सबैभन्दा घातक आक्रमण हो ।

रूसी अनुसन्धान समितिले मस्कोस्थित आफ्नो मुख्यालयमा चार संदिग्धलाई घिसार्दै लगेको भिडियो सार्वजनिक गरेको छ । आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य सात जनाको बारेमा भने केही बताइएको छैन । अधिकारीहरूले बन्दुकधारीहरु सबै विदेशी नागरिक भएको बताएका छन् ।

इस्लामिक स्टेट समूहले शनिबार टेलिग्राममा पोस्ट गरेको एक पोस्टमा ‘चार जना आइएस लडाकुले मेसिनगन, पेस्तोल, चक्कु र फायरबमसहित आक्रमण गरेका’ देख्न सकिन्छ ।एसआईटीई गुप्तचर समूहका अनुसार बन्दुकधारीले खिचेको करिब डेढ मिनेट लामो भिडियो विभिन्न सामाजिक सञ्जालका अकाउन्टमा पनि पोस्ट गरिएको छ ।  रासस/एएफपी