२०८१ बैशाख १५ , शनिवार

विश्व रङ्गमञ्च दिवसः रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आज ६३औँ विश्व रङ्गमञ्च दिवस नेपालका रङ्गकर्मीले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । मार्च २७ लाई रङ्गकर्मीले उत्सवका रुपमा मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ ।

नेपालमा रङ्गमञ्चको आफ्नै महत्व र आवश्यकता छ । रङ्गकर्मीका रुपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारमा पर्न थालेका छन् । रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रुपमा मात्र चिनिन्छ । चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ ।

रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धि तामाङलगायत छन् । उल्लिखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि पात्र मात्र हुन् ।सानो भूमिकादेखि शीर्ष भूमिकासम्म चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा कमै फर्किने गरेका छन् । कलामाथि व्यापार पनि हाबी हुँदा उल्लेखित नामहरू रङ्गमञ्चसम्म आउन नसकेको आरोप लाग्ने गरेको छ ।

चलचित्रमार्फत व्यावसायिक सफलता मिले पनि कलाकारितामा अभिनेता सौगात मल्ल रङ्गमञ्चमार्फत स्थापित हुनुभयो । रङ्गमञ्चमा लामो समय बिताउनुभएका अभिनेता मल्लले पछिल्लो समय चलचित्रमा व्यस्त हुँदा रङ्गमञ्चमा फर्किन नसकिएको बताउनुभयो । “नाटकमा फर्किने योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी गरेकामा विविध कारणले पूरा भएन”, उहाँले भन्नुभयो, “नाटकलाई समय दिनुपर्छ । अभ्यास र मञ्चन गर्दा झन्डै दुईदेखि तीन महिनासम्म समय लाग्छ, त्यही कारण पनि धेरैलाई समय मिलाउन सहज नभएको हुन सक्छ ।”

अभिनेता मल्ल झैँ नाटकमा लामो समयसम्म नदेखिनुभएका कलाकारमा अभिनेता रवीन्द्रसिंह बानियाँ पर्नुहुन्छ । षट्कोण आर्ट्समार्फत चलचित्र निर्माण सुरु भएपछि अभिनेता बानियाँ रङ्गमञ्चमा फर्किनुभएको छैन । “षट्कोण आर्ट्समार्फत नाटक बनाउने योजना पनि बनेको थियो । चलचित्रकै व्यस्तताले गर्दा पूर्णता पाएको छैन । अरूको नाटकमा काम गर्न सहज हुने हुन्छ । आफैँले निर्माण गर्दा चार महिना लाग्ने भएकाले रङ्गमञ्चसम्म पुग्न नसकिएको हो । म नाटकमा देखिने तयारीमै छु”, अभिनेता बानियाँले भन्नुभयो ।

व्यावसायिक पाटोभन्दा कला महत्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ । रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताउनुभयो । “रङ्गकर्मी गरिरहेकालाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन, अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहीँबाट सुरु गर्नुभएको हो । यो अभिनय बुझ्ने र सिक्ने मञ्चमात्र बनिरहेको छ”, सापकोटाले भन्नुभयो, “मैले पनि पाँचवर्षको अन्तरालमा यो वर्ष नाटकमा अभिनय गरेँ । हामी रङ्गमञ्चमा फर्किंदा अभिनयमा बाच्न पाउँछौँ ।” आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्नेक्रम बढेको उहाँको भनाइ छ ।

रङ्गमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद रहेको अभिनेता कमलमणि नेपालले बताउनुभयो । “रङ्गमञ्चमार्फत मेरो जीविका चल्थ्यो भने सायद म त्यहीँ हुन्थे । हामीकहाँ नाटक हेर्ने संस्कार निकै कम छ, यहाँ मात्र नभई विदेशमा कमै सङ्ख्यामा नाटक हेर्न जाने गर्छन् । यही कारणले रङ्गकर्मी चलचित्रमा बढी व्यस्त हुनुहुन्छ”, उहाँले भन्नुभयो, “नाटकमा फर्किन ढिलाइ गर्नु हुँदैन । आफ्नो उपस्थिति रङ्गमञ्चमा पनि राख्नुपर्छ, चलचित्रमा मात्र केन्द्रित भएर रङ्गमञ्च भुल्यौँ भने कलाकारिता पनि जीवित रहन सक्दैन ।”

अभिनेता रवीन्द्र झाले मैथली नाटकमार्फत अभिनयको सुरुआत गर्नुभएको थियो । ‘जात्रा’ मार्फत चलचित्रमा स्थापित भएपछि उहाँ पनि रङ्गमञ्च फर्किन सक्नुभएको छैन । उहाँले नाटकप्रति माया भएकाले बेलाबखतमा हेर्न जाने गरेको बताउनुभयो । “हामीले रङ्गमञ्चलाई भुलेको भए समय निकालेर त्यहाँ पुग्ने थिएनौँ । मञ्चमा नभएता पनि दर्शक बनेर आफ्नो तिर्खा मेटाइरहेका हुन्छौँ । चलचित्रमा काम गर्दा समय व्यवस्थापन गर्न गाह्रो भएको हो । रङ्गमञ्चलाई भुल्ने कल्पना पनि गर्न सकिदैन”, अभिनेता झाले भन्नुभयो । नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रङ्गकर्मीलाई रङ्गमञ्चमा अहिले विरलै देख्न पाइन्छ ।  रासस