२०८१ बैशाख १५ , शनिवार

जुम्लामा घट्दै क्षयरोगका बिरामी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यहाँ पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीनजनाको मृत्यु भएको कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिका दुई र पातारासी गाउँपालिकाभित्रका एकजनाको क्षयरोगका कारणले मृत्यु भएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जुम्लामा ५३ महिला र ५३ पुरुषमा क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म २१ पुरुष र २४ महिलामा क्षयरोग देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले जानकारी दिनुभयो ।आर्थिक वर्ष २०७९÷८० मा यहाँका आठवटा स्थानीय तहमा दर्ता भएका क्षयरोगीको सङ्ख्या कनकासुन्दरीमा छ, गुठीचौरमा आठ, सिञ्जामा नौ, हिमामा १२, तिलामा १३, तातोपानीमा १४, पातारासीमा १८ र चन्दननाथमा २६ जना रहेका छन् ।

कार्यालय प्रमुख सापकोटाका अनुसार आव २०८०÷८१ को साउनदेखि माघसम्मको तथ्याङ्क हेर्दा सिञ्जामा तीन, गुठीचौरमा चार, तातोपानीमा छ, तिलामा छ, पातारासीमा सात, कनकासुन्दरीमा सात, हिमामा नौ र चन्दननाथमा १० जना क्षयरोगीका बिरामी दर्ता भएका छन् ।नेपाललाई क्षयरोगमुक्त अभियान सरकारले सञ्चालन गर्दै आएको छ । आगामी पाँच वर्षभित्र यस अभियानलाई राष्ट्रिय क्षयरोग कार्यक्रमले देशभरका सबै स्थानीय तहमा विस्तार गरी लागू गर्ने योजना सरकारको रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो ।

दुई हप्ताभन्दा बढी खोकी लागेमा क्षयरोग हुन सक्छ । खोग्दा वा हाच्छ्यूँ गर्दा क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले कुनै लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा निःशुल्क जाँच गर्न सकिन्छ । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट पनि सर्दछ । एचआइभी र मधुमेह भएका बिरामीलाई क्षयरोगले छिटो सङ्क्रमण हुने गरेको छ ।श्वास–प्रश्वास, खोक्दा, हाच्छिउँ गर्दा, जहाँ पायो त्यहीँ थुक्दा, बोलचाल गर्दा क्षयरोगका जीवाणु हावाका माध्यमबाट स्वस्थ्य व्यक्तिमा प्रवेश गरेमा क्षयरोग सर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न सकेमा क्षयरोगबाट बच्न सकिने र स्थानीय तहले गाउँ केन्द्रित क्षयरोगको शिविर सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । जनस्वास्थ्य कार्यालयले स्थानीय तहसँग सहकार्य गरेर क्षयरोग पूरै रोकथाम गर्नेका लागि जनचेतनाका कार्यक्रम र स्वास्थ्य जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य परामर्श गर्न आवश्यक रहेको प्रमुख आचार्यको भनाइ छ ।

क्षयरोग रोकथाम गर्नका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उहाँ बताउनुहुन्छ । आवश्यक सचेतनाका कार्यक्रम सञ्चारकामाध्यमबाट सहज रुपमा प्रकाशन र प्रसारण गर्न सकिने नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिनुभयो ।

कनकासुन्दरीमा स्वास्थ्य शिविरबाट पाँच सय १८ लाभान्वित

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका पाँच सय १८ महिला लाभान्वित भएका छन् । पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्क्रिनिङ शिविरमा कनकासुन्दरीको हाटसिञ्जा स्वास्थ्य चौकी र मालिकाबोता स्वास्थ्य चौकीमा महिलाको स्वास्थ्य परीक्षण गरिएको हो ।

हाँडसिञ्जामा तीन सय ७८ र मालिकाबोतामा एक सय ४० महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा आयोजना, जनस्वास्थ्य सेवा कार्यालय र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालको सहकार्यमा शिविर सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक वीरेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

पिसाब चुहिने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, चिलाउने, योनी गन्हाउने, पाठेघरबाट सेतोपानी बग्ने तथा प्रजननसम्बन्धी समस्या यहाँका महिलामा देखिएको छ । हाटसिञ्जा स्वास्थ्य चौकीमा तीन सय ७८ महिलाको जाँच गर्दा दुई सय छजनामा पाठेघरको समस्या देखिएको र तीनजनाको पाठेघरमा क्यान्सर भेटिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जनस्वास्थ्य निरीक्षक उपाध्यायले जानकारी दिनुभयो ।  रासस