२०८१ बैशाख १५ , शनिवार

आयरल्याण्डले नेपाललाई दियो एक सय २२ रनको चुनौती

सुनाखरी न्युज/ काठमाडौं।

आयरल्याण्ड ‘ए’ टोलीले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि एक सय २२ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनायो ।

आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाएका हुन् । त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६/१६ रन जोडे ।

म्याथ्युले १३ बलमा एक छक्का प्रहार गर्दै १६ रन जोडे भने लियामले सात बलमा दुई चौका र एक छक्काको सहयोगमा १६ रन बनाए । फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।  रासस