२०८१ बैशाख १५ , शनिवार

राजश्व अनुसन्धान विभागद्वारा एकैसाथ ठुला अनुसन्धान सुरु

RID

सुनाखरी न्युज/ काठमाडौं।
राजश्व अनुसन्धान विभागले करिब ३० अर्ब राजश्व हिनामिना भएको भन्दै गत शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण, आयटा, अध्यागमन विभाग र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई आफ्नो विवरण पठाउन पत्र पठायो । एनक्यु ट्याक्स र नो शो भएका टिकटबाट उठाइएका करसमेत भुक्तानी नभएको र ग्राहकले समेत फिर्ता नपाएको भन्दै त्यस्तो विवरण पठाउन विभिन्न निकायहरूलाई पत्राचार गरेको थियो ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार एनक्यु ट्याक्स र नो शो भए पनि विभिन्न एयरलाइन्स कम्पनीहरूले उठाएको, ग्राउण्ड ह्याडलिङ चार्ज र एयरपोर्ट चार्जको सबै रकम राजश्व खातामा जम्मा नगरी केही रकम मात्रै जम्मा गरिएको सूचना आएको छ । विदेशी पर्यटकहरूका लागि मात्रै लागू हुने एनक्यु अर्थात् पर्यटन सेवा शुल्क नेपालीबाट समेत उठाइएको तर उक्त कर राजश्वमा नबुझाई एयरलाइन्स कम्पनीहरूले नै लैजाने गरेको प्रारम्भिक रिपोर्ट पाइएको छ । सोही रिपोर्टका आधारमा राजश्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको हो ।

 

 

मूल्य अभिवृद्धि कर नियमावलीको नियम १४ख मा ‘वस्तु वा सेवाको मूल्य कायम गर्दा कर सहितको मूल्य उल्लेख गर्नुपर्ने’ उल्लेख छ । यदि कसैले कर हो कि होइन भनेको छ भने पनि त्यो करसहितकै मूल्य हुने र कर रकम नियम अनुसार दाखिला गर्नुपर्ने कानुनी व्यवस्था छ ।