२०८१ बैशाख २१ , शुक्रवार

छ महिनापछि हिउँदे वर्षा, किसान खुसी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लामो समयपछि हिउँदे बर्सात भएपछि भोजपुरका किसान खुसी भएका छन् । लामो खडेरीको मार परेका किसान बर्सात भएसँगै हिउँदेबाली सप्रने भन्दै खुसी भएका हुन् ।

बर्सातले फलफूलका बिरुवा, तरकारी तथा अन्य हिउँदेबालीको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको स्थानीय रुपनारायण फुयालले बताउनुभयो । खडेरीले हावाहुरीसँगै आगलागीका घटना बढिरहेको अवस्थामा बर्सातले केही राहत मिलेको उहाँको भनाइ छ ।

“लामो समयदेखि हिउँदे बर्सात भएको थिएन,” फुयालले भन्नुभयो, “पानी नपर्दा हिउँदेबाली बारीमा नै सुकिसकेका थिए । ढिलै भए पनि पानी परेसँगै दिउँदेबालीको उत्पादन बढ्नेमा आशावादी छौँ ।”

समयमा हिउँदे वर्षा नहुँदा बालीनाली सुकेका भन्दै बर्सातले किसानलाई लाभ पुगेको तिवारीभञ्याङका टीकाराम तिवारीले बताउनुभयो । गहँु, जौ, तोरी, आलु, गोलभेँडालगायत नगदेबालीलाई बर्सातले फाइदा पुगेको उहाँको भनाइ छ । जिल्लाका सबै भू–भागमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ । यहाँ छ महिनादेखि पानी पर्न सकेको थिएन ।  रासस