२०८१ बैशाख १५ , शनिवार

हाफ म्याराथन यसै साता हुने

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा यसै साता तेस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।

यही चैत १० गते हुने उक्त दौड प्रतियोगितामा सात हजार दुई सय ८६ जनाले भाग लिने संयोजक डा शीतलकाजी श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला पाँच किमी, १२ कक्षासम्मका विद्यार्थीलाई पाँच किमी (पुरुष) र तीन किमी (महिला), अपाङ्गता भएका भएका व्यक्तिका लागि ह्विलचेयर र बालबालिकाका लागि रन फर फन दौड समावेश गरिएको छ ।

प्रतियोगिताअन्तर्गत हाफ म्याराथनको उपाधि जित्ने महिला तथा पुरुष खेलाडीले समान रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो, तेस्रो चौथो र पाँचाँै हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु ४० हजार र रु ३० हजार पुरस्कार पाउनेछन् ।पुरुष १० किमी दौडमा प्रथम स्थान हासिल गर्ने खेलाडीले रु ५० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु ४० हजार पाउनेछ । तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पाउनेछन् ।

पाँच किमी खुला र पाँच किमी विद्यार्थीअन्तर्गत पुरुषतर्फको दौडमा पहिलो स्थान हात पार्ने खेलाडीले रु ३० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचाँै स्थान हासिल गर्ने खेलाडीले रु पाँच हजार पुरस्कार पाउनेछन् ।तीन किमी दौडको महिलातर्फ पहिलो हुने खेलाडीले रु २० हजार पाउनेछन् भने दोस्रोले रु १५ हजार पाउनेछन् । साथै तेस्रोले १० हजार, चौथोले रु पाँच हजार र पाँचौँ हुने खेलाडीले दुई हजार पाँच सय पाउनेछन् ।

ह्विलचेयरतर्फ प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचाँै हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार पाउनेछन् । ‘दौडमा सहभागी बनौँ, स्वस्थ रहौँ’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रतियोगताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नुहुने आयोजकले जनाएको छ ।  रासस