२०८३ जेठ ९ , शनिवार

कृष्णसार स्थानान्तरणका लागि पूर्वाधार तयार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चितवनमा कृष्णसार स्थानान्तरणका लागि विद्युतीय तारबार जडान गरिएको छ । रत्ननगर नगरपालिकास्थित टिकौली चौरमा रहेको १९ दशमलव ८३ हेक्टर क्षेत्रफलमा कृष्णसार स्थानान्तरणका लागि बासस्थानको सुरक्षार्थ विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स लाइन) जडान गरिएको हो ।

विद्युतीय तारबार जडानसँगै यहाँ कृष्णसार स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको रत्ननगरका नगर प्रमुख प्रल्हाद सापकोटाले बताउनुभयो । टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुई पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । कृष्णसारलाई चितवन ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको हो । नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वन कार्यालय चितवनले यसको व्यवस्थापनको काम गर्नेछ । रत्ननगरको गौरवको योजनाअन्तर्गत छ भाले र १२ पोथी गरी १८ कृष्णसार स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सापकोटाले बताउनुभयो ।

कृष्णसार स्थानान्तरणका लागि नगरपालिकाले रु तीन करोड बढी खर्च गरिसकेको नगर उपप्रमुख यादव पाठकले बताउनुभयो । उहाँले यो महिनाभित्र कृष्णसार ल्याउनेगरी काम भइरहेको जानकारी दिनुभयो । यही चैत ७ गतेदेखि इलेक्ट्रिक फेन्स लाइनमा विद्युत् प्रसारण गरिने भएकाले सो क्षेत्रमा प्रवेश नगर्न नगरवासीलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

कृष्णसारलाई सुरक्षित तरिकाले राख्नका लागि पूर्वाधार निर्माणमा रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट रु एक करोड ५५ लाख पाँच हजार नौ सय १६ लगानी गरिसकेको पूर्वाधार शाखाका इन्जिनियर शङ्करबहादुर कुँवरले जानकारी दिनुभयो । पूर्वप्रमुख संरक्षण अधिकृत वर्णबहादुर थापाले कृष्णसारको संरक्षणका लागि स्थानान्तरणको तयारी गरिएको बताउनुभयो ।उहाँका अनुसार कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढी, पहिराका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको हो । विसं २०७७ मा अध्ययन सुरु भएर विसं २०७८ देखि कृष्णसार ल्याउनका लागि पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो ।

कृष्णसारको बासस्थानका लागि खुला घाँसेमैदान भएको ठाउँ उपयुक्त मानिन्छ । यसले काँस, दुबो, सिरु मन पराउँछ । कृष्णसारका लागि बयरको दाना र बुबुल पनि उपयुक्त घाँस हो । टिकौली चौरमा कृष्णसारलाई मन पर्ने बयरलगायत जातका बिरुवासमेत रापिएका छन् ।चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत नारायण रुपाखेतीले जङ्गल र झाडी भएको ठाउँ कृष्णसारका लागि उपयुक्त नभएको बताउँदै खुला तथा घाँसेमैदान उपयुक्त हुने बताउनुभयो । कृष्णसार ल्याउन लागिएको टिकौली क्षेत्रमा ७० प्रतिशत घाँसेमैदान रहेको उहाँले जानकारी दिनुभयो ।

कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो । कुनै समय नेपालको तराई क्षेत्रमा प्रशस्त पाइने कृष्णसार पछिल्लो समय भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थालेको हो । नेपालमा कृष्णसारको सङ्ख्या चार सय ५२ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बर्दियामा एक सय ९६ र कञ्चनपुरको शुक्लाफाँटामा दुई सय ५६ कृष्णसार छन् ।  रासस