२०८१ बैशाख ३१ , सोमवार

राष्ट्रिय सभाका चार विषयगत समिति सभापतिमा चार दलको भागबण्डा

rastriyasabhaa

सुनाखरी न्युज/काठमाडौँ ।

राष्ट्रिय सभा अन्तर्गत रहेका ४ वटा विषयगत समितिको सभापतिका लागि मुख्य ४ राजनीतिक दलले मिलीजुली भागबण्डा गरेका छन् । प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष दलको भूमिकामा रहेका राजनीतिक दलहरूले राष्ट्रिय सभाका समिति भने मिलीजुली भाग लगाएका हुन ।

राष्ट्रिय सभामा रहेको चार विषयगत समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मिलीजुली सभापति भागबण्डा गरेका छन् ।

आइतबार राष्ट्रिय सभा अन्तर्गत रहेका दुई समितिमा सभापति चयनका लागि निर्वाचन हुँदैछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा एमालेका सांसद सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कांग्रेस सांसद कमला पन्तको मात्र उम्मेदवारी परेको छ ।

राष्ट्रिय सरोकारमा शेर्पा र सुशासन समितिमा पन्त सभापति हुने पक्का
उनीहरूको उम्मेदवारीको प्रस्तावक भने फरक फरक दलबाट रहेका छन् । एमाले सांसद शेर्पाको उम्मेदवारी प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपी बहादुर आछामी रहेका छन् भने समर्थकमा कांग्रेस सांसद दुर्गा गुरुङ र एमाले सांसद इन्दिरादेवि गौतम रहेका छन् ।

यता सभापतिको लागि उम्मेदवारी दिएकी कांग्रेस सांसद पन्तको प्रस्तावकमा कांग्रेस सांसद नारायणदत्त भट्ट रहेका छन् भने समर्थकमा एमाले सांसद शारदादेवी भट्ट रहेकी छिन् ।

 

सभापति कायम रहेका अन्य दुई समितिमा माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट सभापति छन् । विधायन व्यवस्थापन समितिमा नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राई सभापति छिन् । यता सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्मा सभापति रहेका छन् ।

राष्ट्रिय सभाको विषयगत समितिको सभापतिको भागबण्डा प्रमुख दलहरूबिच मिलीजुली रूपमा गरिएको माओवादी केन्द्रबाट राष्ट्रिय सभाका सांसद शर्माले जानकारी दिए ।