२०८१ बैशाख २२ , शनिवार

१७ वाणिज्य बैंकहरुले घटाए ब्याजदर, दुईको स्थिर,  एनआईसी एशियाले बढायो

Bank

सुनाखरी न्युज/ काठमाडौं ।
वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रकाशित सूचना अनुसार सञ्चालनमा रहेका २० मध्ये  १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने एनआईसी एशियाले बढाएको छ। दुई वाणिज्य बैंकहरुले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० बैंकहरुको अधिकतम औषत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशतविन्दुमा झरेको छ। १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो। बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको छ।

बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ। फागुनमा ५.७४ प्रतिशतविन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औषत ब्याजदर, चैत महिनामा ०.२६ प्रतिशतविन्दु बढेर ६ प्रतिशतविन्दु पुगेको छ।

एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.५४ प्रतिशतका दरले ब्याज दिने भएको छ। फागुनमा बैंकको यस्तो ब्याजदर ८ प्रतिशत थियो। त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको छ।

 

फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन्। २० बैंकहरुमध्ये कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ।