२०८१ बैशाख १५ , शनिवार

सवारी दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन रणनीति बनाउन माग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन सरकारसमक्ष माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गम्भीर अध्ययन गरी रणनीतिका साथ ‘क्लालेन्डर’ बनाएर काम गर्न आग्रह गर्नुभयो ।

सांसद किरातीले सवारी दुर्घटनाको मुख्य कारण पूर्वाधार पनि भएकाले यसबारे जनचेतना अभिवृद्धि गरिनुपर्नेमा खाँचो औँल्याउनुभयो । साथै उहाँले उदयपुरमा बिहीबार भएको जिप दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दुर्घटनामा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभयो ।

धरानबाट भोजपुर जाने क्रममा उदयपुरको बेलका–७ मैनामैनीस्थित चेङ्ग्रे भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै नौ जना गम्भीर घाइते भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद अमरबहादुर रायमाझीले जिप दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उपचारको व्यवस्था गर्न र दुर्घटना न्यूनीकरण गरी सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।    रासस