२०८१ जेठ ६ , आइतवार

सांसदका अपेक्षा: सुशासन र समृद्धिको यात्रा सहज बनोस्

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सत्ता गठबन्धनमा हेरफेरसँगै मुलुकमा सुशासन र समृद्धिको यात्रा सहज भई जनतामा आशाको सञ्चार हुनुपर्नेमा जोड दिनुभएको छ ।बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सत्ता परिवर्तनले आफूहरु नअत्तालिएको बताउँदै मुलुकको सुशासन र समृद्धिको यात्रा सहजरुपमा अगाडि बढ्नुपर्ने माग गर्नुभयो । उहाँले सहकारी ठगी र सुन तस्करीका घटनामा जोडिएका सत्तागठबन्धन निकटका व्यक्तिहरुलाई जोगाउने प्रपञ्च भएको आरोप लगाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले जिम्मेवार राजनीतिक दलका बीचमा नयाँ सहकार्य भएकाले पुनःगठित सरकार देशका यावत् समस्या समाधान गरी समाजवादोन्मुख अवस्था विकास गर्न सफल होस् भन्ने कामना गर्नुभयो । उहाँले जनतामा रहेको निराशालाई सुशासन र समृद्धिका माध्यमबाट आशा र भरोसामा रुपान्तरण गर्न वामपन्थी दलबीचको सहकार्यलाई एकतासम्म लान र राष्ट्रिय मुद्दामा लोकतान्त्रिक शक्तिसँग पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सत्ता समीकरण फेरिए पनि जनता र राष्ट्रका मुख्य मुद्दाको प्रगतिशीलरुपमा सम्बोधन गराउनु सबैको दायित्य भएको बताउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई छिटो टुङ्गोमा लान आग्रह गर्नुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा चन्दा कार्कीले महोत्तरीको जलेश्वर प्रादेशिक अस्पतालमा पूर्वाधारलगायत सुविधा नहुँदा सेवाग्राहीले उचित सेवा पाउन नसकेको सवाल उठाउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले जाजरकोट भूकम्पबाट प्रभावितले अझै राहत नपाएको गुनासो गर्नुभयो । जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादवले वीरगञ्ज–नारायणी रङ्गशाला खण्डहर बनेकाले पुनःनिर्माणको माग गर्नुभयो ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले नयाँ सरकार बनेको अनुभूति जनताले गर्न पाउनुपर्ने बताउनुभयो । जनमत पार्टीका सांसद अब्दुल खानले मन्त्रिपरिषद्मा एकजना पनि दलित समुदाय नपरेको जनाउँदै यसरी समानुपातिक समावेशीताको सिद्धान्त लागू हुन नसक्ने टिप्पणी गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले तराई–मधेसमा साम्प्रदायिक दङ्गा फैलन नदिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले गत फागुन २८ गते कर्णाली चिसापानी पुलमा गुड्दै गरेको गाडीमा भएको आगलागीबाट भएको क्षति मूल्याङ्कन गरी पुनःनिर्माणको माग गर्नुभयो ।नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपाल–भारत खुला सीमा बन्द गराउन भारत सरकारसँग कुरा गर्न आग्रह गर्नुभयो । आमजनता पार्टीका सांसद प्रभु साहले नेपालमा उखुको भण्डार भए पनि चिनीको मूल्य महँगो हुने, वन जङ्गलको प्रचुरता भए पनि विदेशबाट काठ ल्याउनुपर्ने स्थितिको अन्त्य गर्न माग गर्नुभयो ।सांसद डा अमरेशकुमार सिंहले कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशको अखण्डतामा प्रश्न उठेकाले यसबारे जवाफ दिन माग गर्नुभयो ।  रासस