२०८१ बैशाख १७ , सोमवार

टिकटकलाई उछिन्दै इन्स्टाग्राम बन्यो सर्वाधिक डाउनलोड हुने एप

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मेटा स्वामित्वको सोसल मिडिया एप इन्स्टाग्राम गत वर्ष सन् २०२३ मा विश्वमा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको छ ।चिनियाँ प्रतिस्पर्धी टिकटकलाई पछि पार्दै इन्स्टाग्रामले आफ्नो बढ्दो लोकप्रियतालाई पुष्टि गरेको छ ।

मार्केट इन्टेलिजेन्स कम्पनी सेन्सर टावरको रिपोर्ट अनुसार गत वर्ष इन्स्टाग्रामको डाउनलोडमा २० प्रतिशतले वृद्धि भयो र कुल ७६ करोड ८० लाख पटक डाउनलोड भयो ।सर्वाधिक डाउनलोड हुने एपको दोस्रो स्थानमा रहेको टिकटक ७३ करोड ३० लाख पटक डाउनलोड भएको छ ।

इन्स्टाग्रामले पछिल्लो समयमा अन्य विभिन्न लोकप्रिय सोसल मिडिया प्लाटर्फमका फिचरहरु नक्कल गर्दै आएको छ र त्यसले प्रयोगकर्ताको आकर्षण बढाउनमा सहयोग गरिरहेको छ । यसमध्ये इन्स्टाग्रामले थप गरेको एउटा फिचर रील्स हो । टिकटकको भाइरल भिडियो फिचरको सिको गर्दै इन्स्टाग्रामले सन् २०२० मा रील्स लञ्च गरेको थियो ।

तथ्यांक अनुसार इन्स्टाग्राममा मासिक सक्रिय प्रयोगकर्ताको संख्या एक अर्ब ४७ करोड पुगेको छ भने टिकटकका सक्रिय प्रयोगकर्ता एक अर्ब १२ करोड छन् ।सन् २०२३ को पछिल्लो तीन महिनामा टिकटकका प्रयोगकर्ताको संख्या एक करोड २० लाखले घटेको छ ।