२०८१ बैशाख २२ , शनिवार

पुस्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गराउने सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं।

महाङ्काल ब्याडमिन्टन कभर्डहल र राष्ट्रिय ब्याडमिन्टन सङ्घ नेपालको संयुक्त आयोजनामा सम्पन्न १३औँ पुस्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सफल तुल्याउन भूमिका निर्वाह गर्नेहरुलाई सम्मान गरिएको छ ।

चन्द्रागिरि हिल्समा आयोजित एक कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठले प्रतियोगिता सफल बनाउन भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुभएको हो । उहाँले यस्ता कार्यक्रमले युवालाई उत्प्रेरित गर्ने धारणा राख्नुभयो ।

नेपाल ब्याडमिन्टन सङ्घका उपमहासचिव नवीनविक्रम शाहले १३औँ सस्करणसम्म राष्ट्रिय प्रतियोगिता हुनु सकारात्मक भएको बताउनुभयो । आयोजक कभर्डहलका अध्यक्ष श्रीहरि थापाले प्रतियोगितालाई आगामी दिनमा अझै प्रभावकारी बनाइ निरन्तरता दिने जानकारी दिनुभयो ।

यही फागुन १९ गते सम्पन्न उक्त प्रतियोगितमा नेपाल ब्याडमिन्टन सङ्घको शीर्ष आठ वरियतामा रहेका पुरुष र महिलाको एकल, आठ बरियतादेखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथि, यु–१३ को ब्वाइज र गल्र्स एकल गरी १२ विधामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र खुला गरी करिब पाँच सय खेलाडीको सहभागिता थियो ।  रासस