२०८१ जेठ ६ , आइतवार

मलेसियाद्वारा जेठ १८ देखि आप्रवासी श्रमिक प्रवेशमा रोक

malaysia

सुनाखरी न्युज/ काठमाडौं ।
मलेसियाले औपचारिक क्षेत्रमा काम गर्न आउने आप्रवासी श्रमिकका लागि आगामी जेठ १८ (मे ३१) देखि प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मागभन्दा आपूर्ति बढी भएको र त्यसले आन्तरिक सुरक्षामा समस्या सिर्जना गरेको भन्दै नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाले  अर्को आदेश नहुँदासम्मका लागि भन्दै आप्रवासी श्रमिकलाई भर्ना नलिने निर्णय गरेको हो ।

यसबारे काठमाडौंस्थित मलेसियाली दूतावासले अनलाइन भिसाको आवेदन लिन अनुमति पाएका भिसा सेन्टरहरूलाई औपचारिक जानकारी गराइसकेको छ ।

 

मलेसियाको गृह मन्त्रालयले आवश्यक पर्ने आप्रवासी श्रमिकलाई मे ३१ अघि नै ल्याइसक्न रोजगारदाता कम्पनीलाई समयसीमा तोकिदिएको छ । रोजगारदाता कम्पनीले आप्रवासी श्रमिक ल्याउन अनुमति पाएको कोटा प्रयोग नगर्ने भए सो मितिभित्र रद्द गरिसक्नुपर्ने पनि उल्लेख गरिएको छ । मलेसियाको गृह मन्त्रालयले मे १७ भित्रै आप्रवासी श्रमिकको भिसा लगाइसक्नुपर्ने जनाएको छ ।