२०८१ बैशाख १६ , आइतवार

अर्थमन्त्री पुन र ब्यवसायी भेटः निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता

fncci-toli-vet-with-barsaman-pun

सुनाखरी न्युज/ काठमाडौं ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेट गर्दै उनले उच्च मनोबल साथ ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

 

 

धितोपत्र बजार, घरजग्गा कारोबार तथा सहकारीमा आएका समस्याका कारण निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिरेको उल्लेख गर्दै पुनले समस्या समाधानका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने विश्वास दिलाए ।

 

अर्थतन्त्रका विद्यमान समस्या समाधानमा निजी क्षेत्र, सरकार र जनताबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो । उनले नीतिगत र व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको समेत बताए ।

 

 

अर्थतन्त्रमा परेको दबाबमा आन्तरिक र वाह्य दुवै कारणले भूमिका खेलेको भन्दै मन्त्री पुनले २०७२ सालको विनाशकारी भूकम्म र कोरोना महामारीपछि तंग्रिँदै गरेको अर्थतन्त्र रुस–युक्रेन र इजरायल–हमास युद्धका कारण फेरि दबाबमा परेको बताए ।