२०८१ जेठ ५ , शनिवार

‘पर्याप्त तथ्याङ्कको अभावमा विपद् व्यवस्थापन असहज’

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।

अपाङ्गता भएका व्यक्तिको एथेष्ट तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन् । सिवीएम नेपालको सहयोग र प्रदेश सरकारसँगको समन्वयमा राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले अपाङ्गता भएका व्यक्तिको पर्याप्त तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको बताए ।

अभिमुखीकरण कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पर्याप्त तथ्याङ्कबिना विपद् व्यवस्थापनको काम गर्न असहज भएको बताउनुभयो । कुन–कुन प्रकृतिका अपाङ्गता भएका व्यक्ति छन् भनेर पालिकाले तथ्याङ्क राख्नुपर्ने भन्दै उहाँले अनि मात्रै विपद् व्यवस्थापन गर्दा सहज हुने बताउनुभयो । भवन निर्माणका लागि नक्सापास गर्दा अपाङ्गमैत्री बनाएर दिनुपर्ने उहाँको सुझाव थियो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले विपद् व्यवस्थापनको कार्य गर्दा अपाङ्गता भएका व्यक्तिको लेखाजोखा आवश्यक रहेको बताउनुभयो । उनीहरूलाई तालिमसमेत आवश्यक भएको उहाँको भनाइ थियो । भूकम्पबाट प्रभावित अपाङ्गता भएका व्यक्तिको राहतमा पहुँच पुग्न नसकेको अध्यक्ष शर्मा बताउनुहुन्छ । “भूकम्पबाट अपाङ्गता भएका कति व्यक्ति प्रभावित भए भन्ने एथेष्ट तथ्याङ्क छैन”, उहाँले भन्नुभयो ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाहले अपाङ्गता भएका व्यक्तिसँग आफ्ना सुझाव दिन आग्रह गर्नुभयो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले अपाङ्गता भएका व्यक्तिको हरेक क्षेत्रमा पहुँच पुर्याउने गरी नीति बनाएर त्यसलाई कार्यान्वयन गरिने बताउनुभयो । भूकम्पपछि पुनःनिर्माण गरिने संरचना अपाङ्गतामैत्री बनाउन पहल गर्ने उहाँले आश्वासन दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका जितलाल ढकालले भूकम्प प्रभावित क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको पहिचान नभएको तथाम राहतमा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्न नकसेको गुनासो गर्नुभएको थियो ।  रासस