२०८१ जेठ ६ , आइतवार

चार प्रदेश सरकार अल्पमतमा, कहाँ कस्तो छ अवस्था ?

Pradcesh

सुनाखरी न्युज/ काठमाडौं ।
केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कांग्रेस नेतृत्वको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ भने वाग्मतीमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट बाहिरिएको कांग्रेसले समर्थन पनि फिर्ता लिएको छ । समर्थन फिर्तासँगै अल्पमतमा परेका चारै प्रदेशमा सरकार जोगाउने या नयाँ बनाउने भन्ने हिसाबकिताब भइरहेको छ ।

वाग्मती कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । गण्डकी सरकारमा बहुमत पुर्‍याउन दुवै पक्षलाई राप्रपाको साथ चाहिन्छ । राप्रपाले संघीय सरकारमा सहभागिताबारे निर्णय गरिसकेको छैन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीबाट सरकारमा सहभागी अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई बुधबार पदमुक्त गरेसँगै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सुदूरपश्चिममा माओवादी केन्द्रले कांग्रेस नेतृत्वको प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।

कर्णाली प्रदेश सरकारबाट मंगलबार समर्थन फिर्ता लिँदै कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका थिए । अहिले कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन् ।