२०८१ बैशाख १६ , आइतवार

पर्यटकीय गन्तव्य बन्दै थामचौर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बागलुङको बडिगाड गाउँपालिका–७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ ।

पछिल्लो समय घुम्ने संस्कृति बढेसँगै थामचौर क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । उच्च पहाडी क्षेत्रमा रहेको थामचौरमा स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका हुन् ।

गाउँपालिकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारलाई तीव्रता दिएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।थामचौरमा पालिकाले मन्दिर र शौचालय निर्माण गरेको भन्दै खानेपानी व्यवस्थापन र वनभोज स्थल (पिकनिक) बनाउन थालिएको उहाँले बताउनुभयो । पहिले पैदल यात्रामार्फत पुग्ने पर्यटक हिजोआज मोटरगाडीमा सहजै पुग्न सक्ने उहाँको भनाइ छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि १३ किलोमिटर उत्तरपट्टी रहेको थामचौरको विकासका लागि हालसम्म करिब रू ४० लाख बढी लगानी भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । मोटरबाटोले जोडिएपछि पछिल्लो समय बस र ट्याक्सीसमेत यहाँ पुग्न थालेका उहाँको भनाइ छ ।

अध्यक्ष अधिकारीले भिमगिठे बजारबाटबाट गाडीमा ४० मिनेट लाग्ने हुँदा बिदाको समय र विभिन्न चाडपर्वमा बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेका बताउनुभयो । आगन्तुकको सहजताका लागि ठाउँठाउँमा बस्ने चौताराको व्यवस्थापन तथा वन्यजन्तुका लागि वरपर पोखरीसमेत निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

“थामचौर बडिगाड गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्र हो, यसको विकासका लागि हामीहरु निरन्तर लागि रहेका छौँ । हरेक वर्ष बजेट व्यवस्थापन गरेर पर्यटकीय संरचना बनाउने र प्रचारप्रसारलाई तीव्रता दिएका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “यहाँ धेरै मानिस वनभोजका लागि आउने हुँदा खानेपानीको समस्या छ, यसको समाधानका लागि अहिले काम भइरहेको छ ।” वनभोजका लागि छुट्टै स्थल बनाउने योजना रहेको भन्दै उहाँले सडक पूर्वाधारको विस्तार भएकाले पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने बताउनुभयो । चालू आर्थिक वर्षमा पालिकाले सडक विस्तारका लागि रू २० लाख विनियोजन गरेको छ ।

बडिगाड–७ का पूर्ववडाध्यक्ष कृष्ण गुरुङले पिकनिकको सिजनमा बागलुङसहित अन्य जिल्लाबाट आउनेको भिड हुने बताउनुभयो । खास गरी नयाँ वर्ष, होली पर्व (पूर्णिमा) का बेला पर्यटकले थामचौर भरिभराउ हुने उहाँको भनाइ छ ।यहाँबाट बागलुङको विभिन्न स्थानसहित गुल्मीको रेसुङ्गा, तम्घास बजार, प्यूठान लगायतका ठाउँ एकै पटक देख्न सकिने गुरुङले बताउनुभयो । धौलागिरीसहित दर्जन हिमाल नजिकैबाट अवलोकन गर्न सकिने हुँदा धेरै पर्यटक आकर्षित हुँदै गएको उहाँको भनाइ छ ।

“थामचौरमा पालिकाबाट निरन्तर लगानी भएको छ । यसअघि यहाँ सडकको समस्या भएपछि अहिले सडक स्तरोन्नति भएको छ । सडक व्यवस्थित भएपछि पर्यटक बढेका छन्”, गुरुङले भन्नुभयो, “अग्लो स्थानमा यति सुन्दर ठाउँ छ, जहाँ पुग्यो भने धेरै पर्यटक लोभिन्छन् । केही वर्ष यता पूर्वधार थपिने क्रममा छन् । अहिले बिदा तथा विभिन्न पर्वमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।”  रासस