२०८१ जेठ ४ , शुक्रवार

प्रमुख निर्वाचन आयुक्त भेटवार्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र ‘युनाइटेड नेसन वुमन’का देशीय प्रतिनिधि पत्रिसिया फेरनान्डेजबीच आयोगको कार्यालयमा आज भेटवार्ता भएको छ ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले नेपालको विकासका प्रयासमा ‘युएन वुमन’ले गरेका विभिन्न प्रयासको चर्चा गर्दै हाल लैङ्गिक समावेशीकरणका क्षेत्रमा सरकारका विभिन्न निकायसँग भएका सहकार्यकाबारेमा जानकारी गराउनुभयो ।

उहाँले लैङ्गिक तथा समावेशी नीतिको मूल्याङ्कन, चौथो रणनीतिपत्र तयारीका साथै सोको कार्यान्वयनमा युएन वुमनमार्फत सहकार्य गर्न आह्वान गर्नुभयो ।

देशीय प्रतिनिधि पत्रिसियाले नेपालको लैङ्गिक तथा समावेशीकरणको सफलता उदाहरणीय रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रमा महिलाको गुणस्तरीय सहभागिता वृद्धिका लागि थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आयोगले अवलम्बन गरेका लैङ्गिक समावेशीकरणका प्रयासमा हरसम्भव सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

भेटवार्तामा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, सहसचिव रमेश ढकाल र उपसचिव डा थानेश्वर भुसाललगायतको उपस्थिति रहेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।  रासस