२०८१ बैशाख २३ , आइतवार

तीन पटकको सर्किट ब्रेकपछि सेयर कारोबार आजको लागि बन्द

Share-Working

सुनाखरी न्युज/ काठमाडौँ ।

सत्ताको समीकरण फेरिएसँगै सेयर बजारमा भने उछाल आएको छ।सरकारबाट कांग्रेस बाहिरिएसँगै सेयर बजारमा उच्च वृद्धि देखिएको हो। सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ ।

३ पटक सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । १२ : ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको हो ।

समग्रमा सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ ।