२०८१ जेठ ६ , आइतवार

भक्तपुरमा हत्या घटनामा संलग्नको आरोपमा एकजना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौँ ।

भक्तपुरमा ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो ।

हत्याको घटनापछि फरार रहेका सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट शनिबार पक्राउ गरेको परिसरका इन्स्पेक्टर निर्मल थापाले जानकारी दिए ।

१० फागुनमा गोपाल ढकालकी श्रीमती रेनुलाई टेलिफोनमा श्रीमान चाहिए २ लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू भनी सूचना आएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि खोजतलास गर्ने क्रममा प्रहरीले सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै गोठमा ढकालको शव फागुन ११ गते फेला परेको थियो।

ढकाल र सुवाल केही समयअघि मात्रै भट्टीमा भेटेका थिए। भट्टीमा रक्सी खानेक्रममा भेटेका उनीहरू फागुन ९ गते पनि भेटेको प्रहरीले जनाएको छ। चिनजान भएपछि सुवालले ढकाललाई आफू बस्ने घरमा लिएर गएका थिए।

त्यसै क्रममा झगडा भई हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक थापाले बताए ।सुवालले इँटा, ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाइ छ ।