२०८१ जेठ ४ , शुक्रवार

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चार पक्राउ

arrestad 3

सुनाखरी न्युज/ काठमाडौं ।

लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा चारजनाले लागुपदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको हो ।काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा बा १प ७६४ नम्बरका पर्यटक माईक्रो चालक ललितपुरको ललितपुर महानगरपालिका १४ का ३२ वर्षीय बासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ८ का २८ वर्षीय अमृत उप्रेती र ना ८ ख १६ ४६ नम्बरका ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ का २७ वर्षीय पंकज चौलागाई पक्राउ परेका हुन् ।

 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले चेकजाँच गरेको हो । नागढुंगामा पक्राउ परेका तीनजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट र श्रेष्ठलाई भने प्रहरी वृत्त कालिमाटी पठाएको ट्राफिक कार्यालयले जनाएको छ । यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ बताउँछन् ।

 

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि।एच।सि। किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच गर्दै आएको छ ।