२०८१ बैशाख १७ , सोमवार

भरतपुर अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बन्न सक्छः अध्यक्ष नेपाल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभएको छ ।

आज चितवनको नारायणी नदी किनारमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा अध्यक्ष नेपालले यहाँको विकास र पर्यटकीय सम्भावनाले भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय थलो बनाउन सकिने बताउनुभएको हो ।

“यहाँ गैँडा, पाटेबाघ, घडियाल गोही, साइबेरियन चरा र वनस्पति देख्न पाइन्छ”, उहाँले भन्नुभयो, “यहाँको प्राकृतिक विविधताले पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।” उहाँले चितवनमा विभिन्न जातजाति, भाषाभाषीको बसोबास रहेको भन्दै यहाँको विविधता हेर्न पर्यटक आउने गरेको बताउनुभयो ।
नेपालको केन्द्रमा रहेको भरतपुर महानगरपालिका उत्कृष्ट नगरपालिकाको दर्जा पाएको भन्दै यहाँको विकास निर्माण अन्य पालिकाका लागि पनि उदाहरण बनेको उल्लेख गर्नुभयो ।

विकासका लागि सडक पूर्वाधार मात्र नभई अन्य सूचकसमेत उत्कृष्ट हुनुपर्ने भन्दै त्यसमा भरतपुरले ध्यान दिएको बताउनुभयो । जनताले दिएको सल्लाह र आलोचनाले सही बाटोमा हिँड्न प्रेरित गर्ने भन्दै राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई जनताले नै दण्डित गर्ने बताउनुभयो ।

नेता नेपालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले आपसमा समन्वयमा काम गरेर जनताका आवश्यकता पूरा गर्ने गरी विकास गर्न सकिने बताउनुभयो । भ्रमण वर्षसँगै भरतपुरलाई सबै क्षेत्रको हबको रुपमा विकास गर्नुपर्ने नेता नेपालको धारणा थियो । रासस