२०८१ जेठ २० , आइतवार

इरान निर्वाचन : २९० सदस्यका लागि १५ हजारभन्दा बढी प्रतिस्पर्धामा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इरानी संसद्का २९० सदस्यका लागि १५ हजारभन्दा बढी प्रतिस्पर्धीले मनोनयन दर्ता गरेका छन् ।इरानको संवैधानिक परिषद्का प्रवक्ता हादी ताहान नाजिफले शुक्रबार हुने निर्वाचनमा इरानी संसद्को २९० सिटका लागि विभिन्न क्षेत्रका १५ हजारभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।

शुक्रबार हुने १२ औँ संसदीय र छैटौं एसेम्ब्ली अफ एक्सपर्ट्स को निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा इरानको राजधानी तेहरानमा नाजिफले निर्वाचनमा नयाँ नेतृत्व चयनका लागि स्वस्थ प्रतिस्पर्धा हुनेमा कुनै आशङ्का नगर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

नाजिफका अनुसार उम्मेदवारको उमेर ३० देखि ७५ वर्षको हुनुपर्छ र दर्ता भएकामध्ये करिब ७५ प्रतिशत निर्वाचनमा भाग लिन योग्य हुनेछन् ।सन् १९९० को दशकमा जन्मिएका करिब ४०० र सन् १९८० को दशकमा जन्मिएका करिब तीन हजारभन्दा बढी उम्मेदवार रहेका इरानी अधिकारीले बताएका छन् ।

उम्मेदवारमध्ये १३ प्रतिशत महिला उम्मेदवार रहेका छन् । उहाँले वकिल, न्यायाधीश, शिक्षक र चिकित्सकलगायत विभिन्न क्षेत्रमा चर्चित व्यक्तिहरू निर्वाचन प्रतिस्पर्धामा सामेल भएका उहाँले बताउनुभयो ।प्रवक्ताका अनुसार संवैधानिक परिषद्ले निर्वाचनका बेला देशभरका करिब ६० हजार मतदान केन्द्रमा अनुगमन र पर्यवेक्षकका रूपमा काम गर्न करिब दुई लाख ३० हजार इरानी नागरिकलाई तालिम दिएको छ ।

“सन् १९७९ को इस्लामिक क्रान्तिको विजयपछि धार्मिक अल्पसङ्ख्यकहरूले इरानी संसद्रमा आ–आफ्नो स्थान पाएका छन्,” उहाँले भन्नुभयो ।त्यसैगरी आठ वर्षे कार्यकाल रहेको ‘एसेम्ब्ली अफ एक्सपर्ट्स’ का ८८ सदस्यका लागि १४४ जनाले प्रतिस्पर्धा गर्नेछन् ।नाजिफले दुई लाख ५० हजार सेनालाई निर्वाचनमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी दिइएको बताउनुभयो ।

इरानको निर्वाचन कार्यालयले यसै महिनाको सुरूमा दिएको जानकारीअनुसार यी दुई निर्वाचनमा मतदानका लागि कुल छ करोड ११ लाख ७० हजार मतदाताले योग्यताको मापदण्ड पूरा गरेका छन् ।   रासस/एएफपी