२०८१ बैशाख १५ , शनिवार

राष्ट्रियसभामा छ वर्षको अनुभव सुनाउँदै सांसद

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिसभाको छवर्षे कार्यअवधि पूरा गरेका सदस्यले सभाको ओज र गरिमालाई उच्च राख्न सुझाव दिनुभएको छ ।सभाको आजको बैठकमा यही फागुन २० गतेदेखि पदावधि सकिएर बिदाइ हुँदै गरेका सदस्यले सभामा आफ्नो अनुभव सुनाउँदै सुझावसमेत प्रस्तुत गर्नुभएको हो ।राष्ट्रिसभा र त्यसअन्तर्गतका विषयगत समिति एवं समग्र संसदीय अभ्यासको अनुभव सुनाउँदै राष्ट्रियसभा सदस्य इन्दु कडरियाले कौतहुलता र उत्साहका साथ सदन प्रवेश गरेको दिन सम्झँदै आगामी दिनमा सभामा गैरसंसदीय अभ्यास नगर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “गैरसंसदीय अभ्यास पनि अनुभव गरियो । सरकारमा भएका पार्टीको खिचातानीले सदन जुनसुकै बेला बन्द, अवरोध गर्ने र अध्यादेशमार्फत संसद्को भूमिका खुम्चाउने अभ्यास पनि अनुभव गरियो । अब यस्तो नहोस् भन्ने अनुरोधसमेत गर्दछु ।” सांसद कडरियाले सदनमा बोल्ने कम समय पाएको भन्दै बोलेका कुरामा सरकारले गम्भीरतापूर्वक नलिने प्रवृत्ति सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

“कञ्चनपुरमा हात्तीको आतङ्क, डुबान, सीमा क्षेत्रको समस्या, दुई छिमेकी देशबीचका जनतामा आवतजावतमा परेको सास्ती र महँगीलगायत कुरामा बोलियो । यसरी राष्ट्रियस्तर र जनसरोकारका मुद्दा उठाउँदा जनताको प्रशंसाले आफूमा सकारात्मक ऊर्जा थपेको छ”, उहाँले भन्नुभयो, “सदनमा बोल्न निकै कम अवसर पाइनेरहेछ । सबै सांसदलाई समय छुट्याउँदा एउटा अधिवेशन सकिँदासम्म मुस्किलले तीन–चार पटक बोल्ने अवसर पाइनेरहेछ ।”

सांसद कडरियाले सभाको सदस्य बन्ने अवसरको लागि आफ्नो पार्टी नेकपा (एमाले) प्रति कृतज्ञता प्रकट गर्दै अपेक्षाअनुरुप काम हुन नसकेको बताउनुभयो । “लाग्दथ्यो सदनमा बोलिसकेपछि त्यो कार्यान्वयनमा आउँछ तर यर्थाथमा बोलेका सबै कुरा कार्यान्वयन नहुँदा रहेछन्”, उहाँले भन्नुभयो ।

सदस्य कुमार दसौदीले सदनमा उठेका मुद्दाप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यावधिभरको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “जनप्रतिनिधिले उठान गरेका जनसरोकारका मुद्दालाई सरकारले गम्भीरताका सथा लिन सकेमात्र सार्थकता हुने र सदनको गरिमा बढ्छ ।” उहाँले आफ्नो जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि पुनः ध्यानार्कषणसमेत गराउनुभयो ।

“रोल्पा द्वन्द्वग्रस्त मुख्य थलो हो । अहिले पनि त्यहाँका नागरिक द्वन्द्वका कारण आर्थिक र मानसिकरूपमा कमजोर छन् । रुसी सेनामा जान बाध्य छन् । यो विक्षिप्त अवस्थालाई त्यसको शोधभर्ना गर्नका लागि कम्तीमा पनि मनोपरामर्शको उपचार सेवा उपलब्ध गराउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

समसामयिक विषयसमेतमा ध्यानाआर्कषण गराउँदै सांसद दसौदीले दुई दशकदेखि निर्माणाधीन सहिदमार्ग यथाशीघ्र सम्पन्न गर्न माग गर्नुभयो । उहाँले दलीय राजनीतिमा दलीय स्वार्थका कुरा राख्नुपर्ने भन्दै सदनमा दलभन्दा माथि उठेर जनताका साझा मुद्दाका कुरा गर्नुपर्ने बताउनुभयो ।

सदस्य डा खिमलाल देवकोटाले आफ्नो तीन वर्षको संसदीय अभ्यास, अनुभव र ज्ञानका लागि सदन विश्वविद्यालयसरह रहेको बताउनुभयो । “राजनीति गर्नुकोे लक्ष्य नेतृत्वको लागि हुन्छ । मन लागेसम्म नेतृत्वमा बस्ने र सांसद बन्ने गर्नु हुँदैन । म बैठकको करिब ९४ प्रतिशत अर्थात् एक सय ३० दिन उपस्थिति जनाएको छु । मैले १३ घण्टा बढी बोलेको छु । औषतमा अन्य सदस्यभन्दा यो तीन गुणा बढी समय हो । स्थानीय तह र प्रदेशका सरोकारका विषयमा बोल्ने अवसर पाएँ”, उहाँले अनुभव सुनाउँदै भन्नुभयो ।

सांसद देवकोटाले मन्त्रीसँग सवालजवाफ गर्न नसकेकोप्रति गुनासो व्यक्त गर्दै सदन समयमा नै सुरु हुनु सकारात्मक अभ्यास भएको बताउनुभयो । उहाँले राष्ट्रियसभाको ओज कायम राख्न प्रतिनिधिसभा नरहेको समयमा प्रतिनिधिसभाले गर्ने र विधेयकको प्रथम र अन्तिम ‘रिडिङ’यस सभाले नै गर्नुपर्नेमा जोड दिनुभयो । संविधानको भावना र आशयअनुसार सदस्यको प्रतिनिधित्व हुनुपर्ने उहाँको सुझाव छ ।

बैठकमा आफ्नो अनुभव सुनाउँदै सदस्य दीपा गुरुङले अनुशासित, सक्षमतासहितको प्रस्तुति र कानुन निर्माणको भूमिकाले संसदीय अभ्यास अविस्मरणीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनता जनप्रतिनिधिप्रति आशावादी छन् । सरकारलाई जनताप्रति उत्तरदायी बन्न आग्रह गर्छु ।” उहाँले आफ्नो पार्टी नेकपा (एमाले)प्रति आभार प्रकट गर्दै छ वर्षको समयमा प्रतिपक्ष र सत्तापक्षको भावबाट माथि उठेर काम गरेको दाबी गर्नुभयो ।

यस्तै सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले मौलिक हकका लागि बन्नुपर्ने कानुनका लागि सङ्कल्प प्रस्ताव पेस गरेको स्मरण गर्दै सार्वजनिक महत्वको प्रस्तावअन्तर्गत सडक सुरक्षामाथिको प्रस्तावलाई आगामी दिनमा छलफल अघि बढाउन आग्रहसमेत गर्नुभयो । उहाँले शून्य समयमा राष्ट्रिय सरोकारको विषय उठाएको स्मरण गर्दै भन्नुभयो, “नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पहिलोपटक यस सदनको शून्य समयमा प्रश्न उठाएर ध्यानार्कषण गराउने अवसर प्राप्त भयो ।”

सांसद रावलले विवादरहित समिति सञ्चालन गरेको भन्दै कोरमको अभावमा बैठक स्थगनसमेत नभएको दाबी गर्नुभयो । उहाँले संसदीय अनुगमन प्रभावकारी बनाउन सुझाव दिँदै संयुक्त अनुगमन र निर्देशनका लागिसमेत सुझाव दिनुभयो । संसदभित्र विज्ञ ‘रोस्टर’को व्यवस्थाका लागि उहाँले आग्रह गर्नुभयो । सांसद रावलले राष्ट्रियसभाले सदन सञ्चालन समयमै गरर सकारात्मक काम गरेको बताउनुभयो ।

सदस्य नरपति लुवारले सभाको गरिमा बढाउनेगरी काम गर्न नवनिर्वाचित सदस्यलाई सुझाव दिनुभयो । उहाँले संविधानले व्यवस्था गरेका हक कार्यान्वयनको सम्बन्धमा सदन र सरकारको ध्यानार्कषण गराउनुभयो ।सदस्य प्रकाश पन्थले संसद्प्रति सरकारलाई जवाफदेही र जिम्मेवार बनाउन अझ सशक्त भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै सदन र समितिलाई आधुनिक बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

“छ वर्षको कार्यकलमा दुईपटक प्रतिनिधिसभा भङ्ग भयो । एकपटक निर्वाचन र तीनपटक प्रतिनिधिसभाविहीन अवस्थामा यस सदनमा हामीले काम गर्नुपर्यो”, सांसद पन्थले भन्नुभयो, “दुखद् कुरा, मौलिक हक कार्यान्वयनका लागि आएका विधेयक फटाफट यताबाट आएर उता गए । हामीले छलफल गरेर पास गर्न पाएनौँ । ती सबै विधेयकमा फेरि काम गर्नुपर्ने अवस्था छ ।” उहाँले आफूले राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकासको सभापतिका रूपमा शतप्रतिशत भूमिका निर्वाह गरेको बताउनुभयो ।

सदस्य महेशकुमार महराले सभामा सुदूरपश्चिम क्षेत्रको आवाज उठाएको स्मरण गर्दै सरकारले धेरै विषयमा चासो व्यक्त नगरेको बताउनुभयो । उहाँले सभाको ओज र गरिमा बढाउनतर्फ सबै लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा जनसरोकारका मुद्दा उठाउँदा सरकार मौन रहेको देखियो । सांसदले राखेका समस्याप्रति पछिल्लो सरकार गम्भीर हुनुपर्छ ।”

अर्का सदस्य सूर्यबहादुर विश्वकर्माले जनताको आवश्यकता, चाहना र भोगिरहेका समस्या सम्बोधनका लागि सरकार र सदनको ध्यानार्कषण गराएको स्मरण गर्नुभयो । उहाँले किसानका समस्या र आवश्यकताबारे सभामुखमार्फत पुनः सरकारको ध्यानार्कषणसमेत गराउनुभयो । स्थायी सदन भएकाले सरकार र संसद्को आवश्यकताअनुसार जनतालाई अधिकारसम्पन्न बनाउन केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै सदस्य हरिराम चौधरीले राष्ट्रिसभाको अस्तित्वबारे उठ्ने प्रश्नलाई चिर्दै यसको गरिमा बढाउन सुझाव दिनुभयो । उहाँले सभाको सदस्यका रूपमा भूमिका निर्वाह गर्ने अवसरकाबारे कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “यो अवसरमा देशमा व्याप्त रहेको गरिबी, शिक्षा, स्वास्थ्य र रोजगारीदेखि हरेक क्षेत्रमा रहेका समस्याका बारेमा हामीले बहस गर्ने अवसर प्राप्त गर्यौँ”, उहाँले राष्ट्रियसभाभित्र सबै प्रकारका क्लस्टर सुरक्षित गरेता पनि आदिवासी जनजातिको क्लस्टर सुरक्षित गर्न असमर्थक रहेको बताउनुभयो ।   रासस