२०८१ बैशाख २३ , आइतवार

विराटनगरबाट ‘माउन्टेन’ उडान सुरु हुन्छ : मुख्यमन्त्री कार्की

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विराटनगरबाट माउन्टेन उडान गर्ने बताउनुभएको छ । आज रासससँग कुरा गर्दै उहाँले सगरमाथा क्षेत्रलाई आधार बनाएर विराटनगर–लुक्ला माउन्टेन उडान सुरु गर्ने बताउनुभयो ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगरबाट माउन्टेन उडान सुरु गर्ने योजना छिट्टै कार्यान्वयनमा आउने उहाँले बताउनुभयो । “खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ”, उहाँले भन्नुभयो, “यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगरबाट उडान गर्ने तयारी गरिरहेका छौँ ।”

सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उहाँले जानकारी दिनुभयो । प्रदेशमा अवस्थित विश्वको शिरलाई प्रवर्द्धन गर्न प्रदेश सरकार सदैव तयर रहेको उहाँको भनाइ थियो । रासस