२०८१ बैशाख १६ , आइतवार

वाफ वुमन्स च्याम्पियनसिपको उपाधिको लागि आज नेपाल र जोर्डन खेल्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।

नेपालले सेमिफाइनलमा लेवनानलाई २-१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। आत्मघाती गोलले पछि परेको नेपालका लागि सावित्रा भण्डारी साम्बाले बराबरी गोल गर्दा प्रिति राईले इन्जुरी समयमा उत्कृष्ट गोल गरेकी थिइन्।जोर्डनले भने प्यालेस्टाइनललाई ५-० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। पाँच पटकको च्याम्पियन जोर्डन फिफा महिला वरीयतामा ७४औं स्थानमा छ। नेपाल भने १०५औं स्थानमा छ।

प्रतियोगिताको बलियो मानिएको जोर्डनविरुद्ध नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा भने खेल्नेछैनन्। उनी फ्रेञ्च क्लबमा अनुबन्धन भएका कारण फाइनल नखेली फ्रान्सतर्फ गएकी छिन्।फाइनल खेल फिफा विन्डोको नभएका कारण साम्बाले क्लबसँग सम्झौताका कारण फाइनल गुमाएकी हुन्। उनले प्रतियोगितामा ९ गोल गरेकी थिइन्।

लेवनानविरुद्ध सेमिफाइननलमा एक गोल गरेकी साम्बाले समूह चरणमा प्यालेस्टाइनविरुद्ध दुई गोल, इराकविरूद्ध पाँच गोल र सिरियाविरुद्ध एक गोल गरेकी थिइन्।साम्बा फ्रान्स गएसँगै अब नेपाली टिमबाट रेखा पौडेल, रश्मि घिसिङ, सविता रानामगर लगायतका फरवार्डलाई जिम्मेवारी थपिएको छ।