२०८१ बैशाख १५ , शनिवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

Gautam-Buddha-Cricket-Stadium-Chitwan-2

सुनाखरी न्युज/ चितवन ।

अलपत्र रहँदै आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिउको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले हात उठाएपछि भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र परेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरिएको थियो ।

 

आज एक सार्वजनिक सूचना जारी गर्दै महानगरले इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औँ दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ ।

रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने महानगरपालिकाका वरिष्ठ इन्जिनियर आचार्यले जानकारी दिए । रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।

 

रंगशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ । रंगशालाको सबै काम पुरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्छ । पहिलो चरणको काम पुरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।