२०८१ जेठ ५ , शनिवार

युक्रेनमा सेना पठाउने कल्पना नगरेको स्विडेनको भनाइ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नाटोमा सामेल हुन तयार रहेको स्विडेनले अहिले नै युक्रेनमा स्थल सेना पठाउने कल्पना नगरेको मङ्गलबार बताएको छ ।आफ्नो मुलुकले ट्रान्सएट्लान्टिक सैन्य गठबन्धन (नाटो) मा सामेल हुनका लागि अन्तिम अवरोध पार गरेको एक दिनपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले स्विडिस सार्वजनिक प्रसारक एसभिटीलाई भन्नुभयो, “यो अहिले विल्कुल सम्भव छैन ।”

पश्चिमी नेताहरूले युक्रेनलाई रुसी आक्रमणकारी सेनालाई परास्त गर्न सहयोग गर्नका लागि स्थल सेना पठाउन अस्वीकार गर्नु हुँदैन भनी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार दिनुभएको टिप्पणीप्रति प्रधानमन्त्री क्रिस्टरसनले उक्त प्रतिक्रिया दिनुभएको हो ।

“अहिले हामी युक्रेनलाई उन्नत (सैन्य) उपकरण पठाउन व्यस्त छौँ”, उहाँले भन्नुभयो । स्टकहोमले युक्रेनलाई सात अर्ब १० करोड क्रोनर (६८ करोड २० लाख अमेरिकी डलर) को रक्षा सहयोग गर्ने फेब्रुअरी २० मा घोषणा गरेको थियो । यसमा तोपखाना गोला, हवाई रक्षा, डुङ्गाहरू, खानीहरू, टर्पेडो र युक्रेनी सेनालाई प्रशिक्षण समावेश छ ।

किएभले अहिले आफ्नो तेस्रो वर्षमा रुसी आक्रमणविरुद्ध स्वयंलाई बचाउनका लागि आफूसँग हतियारको निकै अभाव भएको बताएको छ ।

पश्चिमी स्थल सेनाका लागि युक्रेनबाट अहिले ‘कुनै माग नभएको’ प्रधानमन्त्री क्रिस्टरसनले बताउनुभयो । उहाँले भिन्न–भिन्न नाटो सदस्यहरूको अन्तर्राष्ट्रिय मामिलामा संलग्न हुने फरक–फरक दृष्टिकोण रहेको भन्दै फ्रान्सेली परम्परा स्विडेनी परम्परा समान नभएको बताउनुभयो ।स्विडेनले अन्तर्राष्ट्रिय शान्ति सेनामा योगदान गर्दछ तर दुई शताब्दीभन्दा अघि नर्वेसँग भएको युद्धपछि कुनै पनि युद्धमा संलग्न भएको छैन ।

सन् २०२२ फेब्रुअरी २२ मा युक्रेनमाथि रुसको आक्रमणले स्विडेन र छिमेकी फिनल्यान्डलाई नाटोमा सामेल हुनका लागि आवेदन दिन प्रेरित गर्यो । यसबाट असंलग्नताको लामो समयदेखि उसको अडान समाप्त भयो ।सोमबार हङ्गेरीको संसद्ले स्टकहोमको नाटोमा सामेल हुने प्रस्तावलाई अनुमोदन गरेपछि स्विडेनले नाटोको ३२औँ सदस्य बन्ने आफ्नो अन्तिम अवरोधलाई पार गरेको छ ।  रासस/एएफपी