२०८१ जेठ ६ , आइतवार

राष्ट्रसङ्घीय अदालतमा प्यालेस्टिनी भूमिमा इजराइली कब्जाबारे सुनुवाइ पूरा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले सोमबार प्यालेस्टिनी क्षेत्रमा इजराइली कब्जाको कानूनी परिणामबारे सार्वजनिक सुनुवाइ पूरा गरी यसबारे छलफल सुरु गरेको छ ।

आइसिजेका अध्यक्ष नवाफ सलामले आफ्नो समापन टिप्पणीमा सार्वजनिक बैठकमा सल्लाहकार राय पठाइने र यसको मितिको घोषणा उचित समयमा गरिने जानकारी दिनुभयो । आगामी वर्ष वा सम्भवतः यसै वर्षको अन्त्यमा फैसला आउने अपेक्षा गरिएको छ ।

राष्ट्रसङ्घीय महासभाले अनुरोध गरेको सुनुवाइमा प्यालेस्टिन, राष्ट्रसङ्घका ४९ मुलुक र तीन अन्तर्राष्ट्रिय सङ्गठनले मौखिक बयान प्रस्तुत गरेको आइसिजेले सोमबार प्रेस विज्ञप्तिमा जनाएको छ ।

गत सोमबारदेखि सुनुवाइमा भाग नलिई इजराइली प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरी इजराइलको अस्तित्व र आत्मरक्षाको अधिकारलाई थप कमजोर बनाउने प्रयास गरेको आरोप लगाउँदै सुनुवाइको वैधानिकतालाई अस्वीकार गरेको छ ।

प्यालेस्टिनको बयानसँगै सुनुवाइ सुरु भएको हो । प्यालेस्टिनी विदेशमन्त्री रियाद अल–मलिकीले धेरै प्यालेस्टिनीको हत्या भएको वा उनीहरूलाई शरणार्थी बन्न बाध्य पारिएको र आफ्नो भूमि तथा घरमा फर्किने अधिकारबाट वञ्चित गरिएको भन्दै अन्तर्राष्ट्रिय कानूनअन्तर्गत इजराइलले तुरन्त र बिनाशर्त उसको ‘अवैध’ कब्जालाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले आइसिजेले आफ्नो फैसलामा कब्जाको तत्काल अन्त्य गर्न र ‘न्यायसङ्गत र स्थायी शान्ति’ हासिल गर्न मार्ग प्रशस्त हुनेगरी इजराइलले प्यालेस्टिनी क्षेत्रमा गरेको कब्जा अवैध हो भनी घोषणा गर्नुपर्ने बताउनुभयो ।

रासस/सिन्ह्वा