२०८१ जेठ ५ , शनिवार

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई सहयोग

school 2

सुनाखरी न्युज/ काठमाडौं ।
म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र उहाँका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई रु आठ लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।

मालिका गाउँपालिका–४, छाप्सीबाङ घर भई हाल पोखरा निवासी दलबहादुर घर्तिमगर पुन र उहाँकी श्रीमती भानुदेवीले चौरासी वर्ष पुुगेको अवसरमा च्युरीबोटको सिद्धार्थ माविमा आइतबार रु छ लाख १० हजार र ओखरबोट माविलाई रु दुई लाख एक सय ५३ सहयोग गर्नुभएको हो ।

चौरासी वर्ष पुगेका अवसरमा गरिने पूजाआजा, भोजभतेर, दानदक्षिणाका नाममा हुने फजुुल खर्च कटाएर आफ्नो जन्मथलोमा रहेको विद्यालयमा सहयोग गरेको दलबहादुरले बताउनुभयो । “हामीले शिक्षा नपाएर जीवनमा धेरै दुःख भोग्नुुप¥यो,” उहाँले भन्नुभयो, “हाम्रा नातिनातिनाले सहज रुपमा गाउँमै शिक्षा हासिल गर्ने वातावरण मिलोस् भनेर चौरासी पूजाको फजुल खर्च कटाएर विद्यालयलाई सहयोग गरिएको हो ।”

उहाँहरुले आइतबार सिद्धार्थ मावि र सोमबार ओखरबोट माविमा रकम हस्तान्तरण गर्नुभएको हो । सो रकम अक्षयकोषमा जम्मा गरिने सिद्धार्थ मावि व्यवस्थापन समितिका अध्यक्ष रेशम पुनमगरले बताउनुभयो । दलबहादुर सोही विद्यालय व्यवस्थापन समितिमा २० वर्षभन्दा बढी समय आबद्ध हुनुभएको थियो ।

बेलायती सेनाबाट अवकाश प्राप्त पूर्वगोर्खा सैनिक दलबहादुरकै पहलमा कादुरी र गोर्खा वेलफेयरले विद्यालयमा शौचालय निर्माण गर्नाका साथै च्युरीबोटमा खानेपानी आयोजना भित्रिएको थियो । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित अक्षयकोषमा हालसम्म रु ३० लाख २४ हजार छ सय ४३ रकम जुटेको सिद्धार्थ माविका प्रअ ललितबहादुर घर्तिमगरले बताउनुभयो ।

दुईवटै विद्यालयले सहयोगदाता दलबहादुरका परिवारलाई सम्मान गरेका छन् । ओखरबोट माविमा दुई सय १६ र सिद्धार्थ माविमा विद्यालयमा एक सय २६ जना विद्यार्थी अध्ययनरत छन् । यसअघि गत पुस १० गते च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उहाँका छोराहरुले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गर्नुभएको थियो ।  रासस