२०८१ बैशाख ३१ , सोमवार

बिना प्रतिस्पर्धा वीर अस्पतालद्वारा औषधि खरिद

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिनुभयो ।

अस्पताल प्रशासनले भने तीन वटा फार्मेसीका लागि औषधि प्रक्रिया पूरा गरेरै खरिद गरेको दाबी गरेपनि अनुगमनका क्रममा भने २०७८ देखि पुरानै सम्झौताअनुसार खरिद भइरहेको पाइएको उहाँको भनाइ छ ।अनुगमन टोली सदस्य समेत रहनुभएका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले भन्नुभयो, “विसं २०७८ देखि हालसम्म बोलपत्र आह्वान नगरी औषधिखरिद गरिरहेको अनुगमनका क्रममा देखिएको छ ।”

उहाँले अनुगमनका क्रममा अत्यावश्यक औषधिफार्मेसीमा नभएको, अनावश्यक औषधिस्टोरमा राखेको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको जानकारी दिनुभयो ।वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले फार्मेसीको नेतृत्व यसबीच तीन पटक परिवर्तन भएकाले बोलपत्र आह्वानमा समस्या देखिएको बताउनुभयो । उहाँले केही औषधि खरिदका लागि भने बोलपत्र आह्वान भइसकेको जानकारी दिनुभयो ।

“बीमाबाट आउनुपर्ने रकम छ महिनासम्म पनि नआउदा आपूर्तिमा समस्या भएको हो । अन्यत्रबाट सोझै खरिद गरी ल्याउन सकिन्न”, उहाँले भन्नुभयो, “आपूर्तिकर्तासँग अत्यावश्यक औषधिखरिदका लागि पटक–पटक छलफल गर्दा पनि भुक्तानी नभएकाले आपूर्ति रोकिएको छ ।”निर्देशक पौडेलले प्राविधिक जनशक्ति अभावले अस्पतालद्वारा सञ्चालित तीन वटा फार्मेसी चौबिस घण्टा सञ्चालन गर्न नसकिएको पनि बताउनुभयो । उहाँले एउटा काउन्टरलाई २४ घण्टा सञ्चालन गरे पनि दुई वटा काउन्टर भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा फार्मेसी भवन निर्माणका लागि खालि ठाँउमा टहरा निर्माणको ठेक्का लगाउने प्रक्रियामा अगाडि बढाइएको जानकारी दिनुभयो । “केही दिनमा टहरा निर्माण र बोलपत्र आह्वान गरी औषधिआपूर्ति पनि भइसक्छ”, उहाँले भन्नभयो, “जनशक्ति थप गरेपछि अहिलेको समस्या ९० प्रतिशत समाधान हुनेछ ।”   रासस