२०८१ जेठ ५ , शनिवार

अफगानिस्तानका विषयमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक बस्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
अफगानिस्तानको विषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक आज (सोमबार) बस्ने भएको खामा प्रेसले जनाएको छ ।राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको दोहा बैठकपछि अफगानिस्तान सम्बन्धमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को यो पहिलो सत्र हो ।

टोलो न्युजका अनुसार अफगानिस्तानका लागि प्रस्तावित राष्ट्रसङ्घको दूतका सम्बन्धमा परिषद्को बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।सुरक्षा परिषद्को सत्रका क्रममा परिषद्ले दोहा बैठकको नतिजा र अफगानिस्तानका लागि एक विशेष प्रतिनिधिको नियुक्तिबारे छलफल गर्ने स्रोतले सङ्केत दिएको छ ।

खामा प्रेसका अनुसार दोहा बैठक महासचिव गुटेरसको आयोजनामा फेब्रुअरी १८ र १९ मा भएको थियो । अफगानिस्तानको सङ्कटको समाधानका लागि राष्ट्रसङ्घका विशेष प्रतिनिधिको नियुक्ति राष्ट्रसङ्घ र केही अन्य क्षेत्रीय मुलुकबीच एउटा महत्त्वपूर्ण मुद्दा बनेको छ ।

यसका अतिरिक्त चीन, रुस र इरानले तालिबानको स्वीकृतिमा अफगानिस्तानका लागि नयाँ प्रतिनिधिको स्वीकृतिको शर्त राखेका छन् । यद्यपि तालिबानले विज्ञप्तिमार्फत सार्वजनिकरूपमा विशेष प्रतिनिधिको नियुक्तिको विरोध गरेको खामा प्रेसले बताएको छ ।दोस्रो दोहा बैठकपछि महासचिव गुटेरेसले नयाँ राष्ट्रसङ्घीय प्रतिनिधिको नियुक्तिलाई लिएर तत्काल परामर्श सुरु हुने घोषणा गर्नुभएको छ ।

राष्ट्रसङ्घद्वारा अफगानिस्तानका लागि एक विशेष प्रतिनिधिको नियुक्ति यस क्षेत्रमा चलिरहेको सङ्कटलाई सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण कदम हो र यसले शान्तिपूर्ण समाधान खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धतालाई जोड दिन्छ ।  रासस/एएनआई