२०८१ जेठ ७ , सोमवार

विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गरौं : अभिनेत्री कोइराला

Capture

सुनखरी न्युज/ काठमाडौं ।
चर्चित वलिउड अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला आत्मनिर्भरता विषयक अन्तरसम्वाद तथा छलफल कार्यक्रममा बोल्दै उनले नेपालको विकासका लागि आफुले आर्जन गरेको ज्ञान सीप नेपालमा प्रयोग गर्नु पर्ने बताइन् ।‘हामी ज्ञान सीपका लागि विश्वका जुन सुकै ठाँउमा पनि पुग्न सक्छौं । तर जुन माटोमा जन्मियौं त्यस माटो प्रति हाम्रो कर्तव्य हुन आउँछ । त्यसैले पनि नेपालको लागि मैले के गर्न सक्छु भन्ने चिन्तन आवश्यक छ । त्यसका लागि आफ्नो सीप देशका खर्चिनु पर्छ ।’ उनले भनिन् ।’

सार्थक जीवनका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनले आत्मनिर्भरताको लागि समयमै आफ्नो रुची अनुसारको विषय पहिल्याउन र सोही अनुरुप काम गर्न विद्यार्थीलाई सुझाव दिइन। आफु क्यान्सर जस्तो गम्भिर रोगबाट निको भएर बाहिर आएको र देशका लागि केही गर्न सकिन्छ कि भनेर काम गर्दै आइरहको प्रसंग उल्लेख गर्दै अभिनेत्री कोइरालाले जिन्दगी संघर्षपूर्ण यात्रा रहेको बताइन । ‘अहिलेका युवा युवतीहरुले धेरै स्ट्रेस लिएको देखिन्छ । त्यसबाट बाहिर आउन जरुरी छ । कुनै पनि काम सानो ठूलो भन्ने हुँदैन् । तपाईंले गरिरहेका कामलाई पर्याप्त समय दिनोस, तपाईलाई ठिक लागेन बाटो परिवर्तन गर्नुस । क्षणिक लाभका लागि गरिएको कामले दिने सन्तुष्टि क्षणिक नै हुन्छ । त्यसैले काम गर्दा दीर्घकालीन सोंच अगाडि ल्याएर काम गर्नुस सफलता अवश्य मिल्नेछ । ’उनले भनिन ।

क्याम्पसका वरिष्ठ प्राध्यापक प्रा.डा.जयन्तनाथ खनालले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको स्थापना तथा वर्तमान अवस्थाबारे जानकारी दिँदै क्याम्पसले विद्यार्थीको उत्प्रेरणाको लागि यस प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताए ।डिल्लीबजार कन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अपराजिता अर्यालले मनिषा कोइरालाको जीवन, भोगाई र संघर्षबाट धेरै कुरा सिक्न सकिने धारणा राख्दै यस कार्यक्रमको माध्यमबाट विद्यार्थीमा सकारात्मक परिर्वतनको अपेक्षा गरिएको बताइन् ।

२०३७ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रजी, एमए समाजशास्त्र, तथा एमबीएसको अध्ययन हुने गरेको र यस क्याम्पसमा अध्ययनरत छात्राहरुले विभिन्न शैक्षिक वर्षहरुमा त्रिभुवन विश्वविद्यालयमा सर्वोत्कृष्ट अंक हासिल गरेको क्याम्पस प्रमुख अर्यालले जानकारी दिइन् । हाल यो क्याम्पसमा विभिन्न ६० जिल्लाका करिब ७ सय विद्याथी अध्ययनरत छन् ।