२०८१ बैशाख २६ , बुधवार

क्रिकेट विश्वकप लिग २ : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

सुनाखरी न्युज/ काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको घरेलु मैदानमा जारी  अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया पनि सहभागी छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन खेल जित्दा एक खेलमा पराजित भएको थियो ।

नेपाल र नेदरल्याण्ड्सले भने तीन खेल खेल्दा समान एक खेल जितेका छन् । नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको थियो ।

नामिबियासँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो । यस्तै नेदरल्याण्ड्स र नामिबिया विरुद्धको खेलमा दुवै टिमले एक(एक खेल जितेका थिए ।

नेपाल र नेदरल्याण्ड्स दुवै आफ्नो पछिल्लो खेलमा नामिबियासँग पराजित भएको थियो । नेपाल आफ्नो पछिल्लो खेलमा नामिबियासँग २ विकेटले पराजित भएको थियो । यस्तै जारी शृंखलामा दुई स्कोर कटाउने पहिलो टिम बनेको नामिबियाले त्यसपछिको खेलमा नेदरल्याण्ड्सलाई २४ रनले पराजित गरेको थियो ।

त्यसैले नेपाल र नेदरल्याण्ड्स दुवै टोली अन्तिम खेलमा जित्दै सुखद रुपमा शृखंला सकाउने योजनामा छ ।

नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार ओडिआई खेल भएको छ । जसलै दुवैले समान २(२ खेल जितेका छन् ।

कीर्तिपुरमै भएको पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १३७ रनमा अलआउट गर्दै २०८ बल बाँकी छँदै ९ विकेटले खेल जितेको थियो ।