२०८१ बैशाख २५ , मंगलबार

३ वर्षसम्म आफ्नो सन्तान नभएपछि प्रसूति गृहबाट अर्काको शिशु चोरी

sesu

सुनाखरी न्युज/ काठमाडौं ।

विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरी गरेको पाइएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको छ ।

प्रसूति गृहबाट शुक्रबार दिउँसो  काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो ।

स्रोतका अनुसार, प्रहरी टोली उनको घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन् । उनले बाटोमा जन्माएर ल्याएको दाबी गरेको एक अधिकृत बताउँछन् ।

 

तर, सीसी टीभी फुटेज, त्यसबेला लगाएको लुगा लगायतका आधारमा उनले शिशुलाई प्रसूति गृहबाट ल्याएको पुष्टि हुने अधिकृतहरु बताउँछन् ।

प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ ।

सीसी टीभी फुटेजमा उनलाई लिन एक किलोमिटर परसम्म उनकी दिदी गएको देखिएको छ । त्यसैले प्रहरीले दिदीलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि नियन्त्रणमा लिएको छ ।

शिशुलाई भने मध्यराति नै आफ्नो बुबाको जिम्मा लगाइएको छ ।

 

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, शुक्रबार दिउँसो केहिवेरका लागि शिशु समातेकी मनकुमारी त्यहाँबाट निस्किएर ट्याक्सी चढेकी थिइन् ।

प्रहरीले शुक्रबार साँझ ट्याक्सी चालकलाई समेत नियन्त्रणमा लिएर खोजी थालेको थियो । त्यसक्रममा सिंह पेप्सिकोलामा ओर्लिएर डेढ किलोमिटर हिँड्दै घरसम्म गएको खुलेको छ ।