२०८१ बैशाख १७ , सोमवार

त्रिभुवन विश्वविद्यालका नवनियुक्त उपकुलपति बरालले सार्वजनिक गरे विश्वविद्यालय सुधार्ने ३ प्राथमिकता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालय सुधार्ने ३ प्राथमिकता सार्वजनिक गरेका छन् ।
देशकै प्रमुख विश्वविद्यालय कसरी सुधार्ने र कसरी यसको गुमेको साख फर्काउने भन्ने बहस सिर्जना भइरहेका बेला त्रिभुवन विश्वविद्याल (त्रिवि) मा उपकुलपति नियुक्त भएका बरालले पहिलो प्राथमिकता शैक्षिक क्यालेन्डर बनाउने बताए । ‘मेरो पहिलो प्राथमिकता के हो भने एकेडेमिक क्यालेन्डर बनाएर कार्यान्वयन गर्ने र शैक्षिक कार्यक्रमलाई ट्र्याकमा ल्याउने हुनेछ,’ बरालले भने, ‘विद्यार्थीले शैक्षिक क्यालेन्डर मागिरहेका छन्, त्यसको कार्यान्वयन भइराखेको छैन । जसका कारण समयमै शैक्षिक कार्यक्रम हुन सकिरहेका छैनन् ।’

बरालको दोस्रो प्राथमिकतामा परीक्षाको नतिजा समयमै निकाल्ने छ । परीक्षाको नतिजामा समयमै नआउँदा पनि विश्वविद्यालयप्रति धेरैको विश्वास घटेको उनको भनाइ छ । समयमै नतिजा प्रकाशन गर्न नसक्नुमा विभिन्न कारणहरु रहेको र त्यसको पुनर्संरचना गर्नुपर्ने बरालले बताए । केही संस्थागत विकास पनि गर्ने योजना बरालले सुनाए ।

बरालले तेस्रो प्राथमिकतामा पाठ्यक्रम सुधारलाई राखेका छन् । ‘त्रिभुवन विश्वविद्यालयमा मेरो तेस्रो प्राथमिकताको विषय पाठ्यक्रमको सुधार हो । धेरै वर्षसम्म पनि पाठ्यक्रम अध्यावधिक भइराखेको छैन,’ बरालले भने, ‘श्रम बजार र मागअनुसार पाठ्यक्रमलाई अध्यावधिक गर्नुपर्ने छ । यी ३ कुरा हुनेवित्तिकै विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्छ ।’