२०८१ जेठ ३ , बिहिवार

विपन्न परिवारलाई ग्यास चुलो वितरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकामा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का दुई सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–५ ले आफ्नो वडाभित्रका अतिविपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरेको जनाएको छ । वडाभित्र रहेका विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस् भन्ने उद्देश्यसाथ दुई सय परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरिएको वडाध्यक्ष सराफत खानले बताउनुभयो ।

वडाध्यक्ष खानका अनुसार वडाअन्तर्गत रहेको बाबा मजार टोल, कसाइमण्डी, आँखा अस्पतालरोड, बेहनाटोल, रामनगररोड, एमपी स्कुलरोड, साइमार्ग, भट्टा टोल र जडीबुटी कार्यालय पछाडिको टोलका विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको हो । ग्यास चुलोसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटरसमेत सबैलाई वितरण गरिएको छ । ग्यास चुलो पाएपछि खुसी हुँदै उनीहरूले ग्यास सिलिण्डरको समेत आशा व्यक्त गरेका छन् ।  रासस