२०८१ बैशाख १७ , सोमवार

गण्डकीलाई राईनो संरक्षण गोल्डकपको उपाधि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा जारी छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –२, स्थित राईनो रङ्गशालामा जारी प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई एकका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै उपाधि गण्डकी प्रदेशले उचालेको हो ।

बुधबार भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल सुरु भए लगतै खेलको ४७ औँ मिनेटमा गण्डकी प्रदेशका जर्सी नम्बर ६ का खेलाडी मुकुन्द न्यूरेले पहिलो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ५५ औँ मिनेटमा गण्डकीका खेलाडी मुकुन्द न्यूरेले पुनः गोल गर्दे आफ्नो टिमको अग्रता दोब्बर बनाएका थिए ।

अठ्ठाइस बिघा क्लबका जर्सी नम्बर दुईका खेलाडी एन्जल महर्जनले आफ्नो टिमका लागि खेलको ७० औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि कुनै गोल हुन नसकेपछि गण्डकीले जित निकालेको हो ।जितसँगै गण्डकी प्रदेशले उपाधि सहित रु. आठ लाख पुरस्कार प्राप्त गरको गरेको छ । उपविजेता बनेको अठ्ठाइस बिघा क्लबले रु. चार लाख पुरस्कार प्राप्त गरेको छ ।

गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले २० वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । छैटौँ संस्करणको प्रतियोगितामा नेपाल आर्मी , सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिम , लुम्बिनी , बागमती र गण्डकी प्रदेश , मछिन्द्र , सङ्कटालगायत १२ वटा टिम सहभागी थिए ।

नवलपुरलाई खेलको माध्यमबाट चिनाउने साथै गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिदै आएको आयोजक राईनो क्लबका अध्यक्ष दोमन बहादुर भण्डारीले बताउनुभयो । छैटौँ संस्करण सफल रुपमा सम्पन्न भएको र नियमित रुपमा आगामी दिनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
रासस