२०८१ बैशाख १७ , सोमवार

इरान र श्रीलङ्काका विदेशमन्त्रीद्वारा द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने इच्छा व्यक्त

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।
इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र उहाँका श्रीलङ्काली समकक्षी अली साबरीले मङ्गलबार विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

इरानको विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार श्रीलङ्काको राजधानी कोलम्बोमा भएको एक बैठकमा दुवै पक्षले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा विचार आदानप्रदान गर्नुभयो ।विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले आफ्नो श्रीलङ्का भ्रमणले राजनीति, अर्थतन्त्र, व्यापार, पर्यटन, विज्ञान र प्रविधिलगायत सबै क्षेत्रमा सम्बन्धहरूलाई थप विस्तारका लागि आधार तयार पार्ने अपेक्षा गर्नुभयो ।

उहाँल संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय सङ्गठनका सभाहरूमा प्यालेस्टिनी जनता र गाजाको समर्थन गर्ने श्रीलङ्काको स्थितिको प्रशंसा गर्नुभयो ।श्रीलङ्काली विदेशमन्त्री साबरीले दुई मुलुकबीच असल सम्बन्ध, साझा आधार र मूल्यमान्यता रहेकामा जोड दिनुभयो । उहाँले आफ्नो मुलुकले आर्थिक वृद्धिको अनुभव गरिरहेको बताउँदै श्रीलङ्काको नयाँ आर्थिक युगका क्रममा दुवै मुलुकबीचको सम्बन्ध थप विकसित हुने अपेक्षा गर्नुभयो ।

मन्त्री साबरीले इरानको आर्थिक तथा औद्योगिक क्षमताहरूको प्रशंसा गर्दै आफ्नो मुलुकमा इरानको आर्थिक परियोजनाहरू कार्यान्वयनका लागि श्रीलङ्काको तत्परता व्यक्त गर्नुभयो ।अमिर–अब्दुल्लाहियान सोमबार राति कोलम्बो पुग्नुभएको हो । उहाँले मङ्गलबार श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्धने र राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग भेट गर्नुहुनेछ ।  रासस / सिन्ह्वा